धरान: धरान वडा नं ८ स्थित वरगाछीमा १५ बेडको धरान सिटी हस्पिटल खुलेको छ ।

शुक्रबार एक समारोहबीच नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि चाम्लिङ राईले रिबन काटेर हस्पिटलको उद्घाटन गरे । अस्पतालकी अध्यक्ष वरिष्ठ स्त्री तथा प्रसुती रोग डाक्टर खुश्बु अग्रवालका अनुसार १५ बेडको सुविधा रहेको  छ । आँखा र दाँत बाहेकका बिशेषज्ञ डाक्टरहरुबाट ओपिडी सेवा पनि उपलब्ध हुने उनले बताइन् । 

दैनिकरुपमा ओपिडी सेवा हुन्छ भने चौबिसै घण्टा २ जना डाक्टरसहित इर्मजेन्सी सेवा उपलब्ध रहने उनले बताइन् । ‘हामीले इर्मजेन्सी सेवा दिने हो, २ जना डाक्टर चौबिसै घण्टा हुन्छ,’उनले भनिन्,‘बिहान ९ बजेदेखि ५ बजेसम्म ओपिडी रहन्छ ।’

city hospital1

ल्याब र फार्मेसी पनि चौबिसै घण्टा सुविधा हुने अस्पतालले जनाएको छ । अस्पतालमा माइनर अप्रेशन पनि हुनेछ तर तत्काल व्यवस्थित अप्रेशन थिएटर र आइसियु सुविधा नभएकोले जटिल किसिमका विरामी भर्ना नलिने पनि डाक्टर अग्रवालले स्पष्ट पारिन् । ‘सेवाग्राहीहरुले विश्वास गर्दै जानुभयो भने चाडै हामी अप्रेशन थिएटर र आइसियु सेवा पनि दिने योजनामा छौं,’उनले भनिन् ।

अस्पतालमा अत्याधुनिक ल्याब तथा प्याथोलोजी सेवा, एक्स रे, इसिजि सेवा, एम्बुलेन्स सेवा पनि रहेको छ । यस्तै, भिडियो एक्स रे, इकोकार्डियोग्राफी, नवजात शिशु तथा बाल रोग उपचार, प्रसुति एवं स्त्रीरोग सम्बन्धी सम्पुर्ण सेवा पनि रहेको अस्पतालको भनाई छ । चार जना बोर्ड सदस्य रहेको प्रालिले करिब एक करोड हाराहारीमा लगानी भएको पनि अध्यक्ष अग्रवालले बताइन् । 

भिडियो: