धरान: जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टी (जसपा) को धरान उपमहानगर कमिटी गठन भएको छ । 

शनिबार धरान १० स्थित यलम्बर स्मृति संग्रहालयमा आयोजित भेलाले नगेन्द्र पारघरी लिम्बुको अध्यक्षतामा ६३ सदस्यीय कमिटी गठन गरेको हो । उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपालबाट अलग भएर अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठन भएपछि धरानमा पनि कमिटी बनेको हो । पार्टी विभाजन हुनुअघि धरानमा ताजुब लिम्बुको अध्यक्षतामा जसपा नेपालको कमिटी थियो । पार्टी विभाजन पछि भने लिम्बु कुनै पक्षमा खुलेका छैनन् ।

 नयाँ कमिटीको उपाध्यक्षमा प्रेमराज शाक्य र प्रेमकुमार राई चयन भएका छन् भने सचिवमा शम्भु राई पृथक छन् । उनी यसअघि पनि जसपा नेपालको सचिव नै थिए । यस्तै, सहसचिवमा रञ्जित राई र लक्ष्मी राई चुनिएका छन् । लक्ष्मी यसअघिको कमिटीमा कोषाध्यक्ष थिइन् । नयाँ कमिटीको कोषाध्यक्षमा भने केदार राई छन् । उनी यसअघि नगरको सचिवालय सदस्य थिए ।

जसपाका केन्द्रीय उपाध्यक्ष रनध्वज कन्दङ्वाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, प्रदेश १ कमिटी सहसचिव गौरीमान राई, किरात राष्ट्रिय समितिको उपाध्यक्ष विना पुमा, १ नम्बर प्रदेश कमिटीका नेता राम माण्डुपा राईलगायतको पनि उपस्थिति रहेको थियो ।