धरान: नेकपा एमालेको ८ औं सुनसरी जिल्ला अधिवेशनबाट पदाधिकारीमा निलम खनालको प्यानल विजयी भएको छ ।

पाँच जना पदाधिकारी चुनिदा धरानबाट उपसचिवमा इन्द्रकला राई निवार्चित भएकी छिन् । सचिवमा धरानबाटै पदम लिम्बु पनि उम्मेद्वार थिए । तर उनी पराजित भए । 

बुधबार पदाधिकारीको मतगणना सम्पन्न हुँदा अध्यक्षमा खनालले ३८३ मत ल्याएर निवार्चित भए । अध्यक्षमा पराजित खेमराज पोखरेलले २८७ मत प्राप्त गरे । उपाध्यक्षमा पर्शुराम यादव ३३२ मत ल्याएर विजयी भए । उनले प्रतिद्धन्दी नन्द बस्नेतलाई मात्र ३ मतले पराजित गरे । बस्नेतले ३२९ मत प्राप्त गरे ।

सचिवतर्फ राम कोइराला ३८७ मतसहित विजयी भएका छन् भने उनका प्रतिद्धन्दी पदम लिम्बुले २७० मत प्राप्त गरे । उपसचिवमा महिलातर्फ धरानकी इन्द्रकला राईले सर्वाधिक मत ४३८ प्राप्त गरेर विजयी हुँदा कमला मगरले मात्र १९१ मत पाइन् ।

यस्तै, उपसचिव पुरुषतर्फ यामकुमार सुब्बा ३८५ मत प्राप्त गरेर विजयी भए । पराजित भएका देबानन्द मेहताले १९७ मत पाए । अधिवेशनमा ७२८ जना मतदाता प्रतिनिधिहरु थिए भने मंगलबार भएको मतदानमा ६८१ मत खसेको थियो ।