धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भोली (बिहिबार) बोलाएको बैठक गैरकानुनी भएकोले आफुहरु सहभागी नहुने कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले बताएका छन् ।

कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले बुधबार दिउँसो संयुक्त पत्रकार सम्मेलन गर्दै कानुनमा बैठक सञ्चालन सम्बन्धी कार्यविधिले नगर प्रमुखको निर्देशनमा कार्यकारी अधिकृतमार्फत बैठक आह्वान हुने र बैठकको सचिवको भुमिका पनि कार्यकारी अधिकृतले नै गुर्नपर्ने बताए । तर, मेयर साम्पाङ आफ्नो अधिकारभन्दा बाहिर गएर प्रशासन महाशाखा प्रमुख जस्तो भएर प्रशासन महाशाखाको लेटरप्याडमा कार्यपालिका बैठक बोलाएकोप्रति कार्यपालिका सदस्यहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले आफ्नो अधिकारको जानकारीसम्म पनि मेयरलाई नहुनु आफैमा लज्जास्पद बिषय भएको टिप्पणी गरेका छन् ।

धरानमा विगत ८ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत छैनन् । संघीय सरकारले आर्थिक अधिकारसमेत दिएर निमित्त प्रमुख प्रशासकीय अधिकृत भएकी प्रज्ञा निरौलालाई मेयर साम्पाङले काम गर्न रोकेर विदामा बस्न दबाब दिएको बताइएको छ । मेयर साम्पाङले राज्यको कानुन, नीति, ऐन र प्रकृया विपरीत मनोमानी ढंगले कामहरु गर्दै आएको पनि कार्यपालिका सदस्यहरुले आरोप लगाएका छन् । 

‘यसैको नमुनाकोरुपमा प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिनु, दैनिक आर्थिक कार्यका चेकमा हस्ताक्षर गर्न नदिनु, कर्मचारी सरुवा गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुन्छ तर त्यो अधिकार मिच्दै प्रमुखले आफुखुशी कर्मचारी सरुवा गरेको बिषयलाई मान्न सकिन्छ,’ पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा भनिएको छ,‘यसैबीच जेठ २७ गते नगर प्रमुखबाट हस्ताक्षरित कार्यपालिका बैठकका लागि गरेको पत्रचारप्रति खेद प्रकट गदैछौ । नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय नै नगरि पत्राचार गर्नु, नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने खबर हुदा पनि हतारमा कार्यपालिका बैठक बोलाउनु ऐन नियम वमोजिम त्रुटीपुर्ण छ ।’

karyapalika1

बिहिबार बोलाइएको बैठक हाल स्थगित गरेर ऐनले तोकेको प्रक्रिया पुरा गरि कार्यपालिका बैठक बोलाउन पनि वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरुले माग गरेका छन् । वडा नं १७ का अध्यक्ष एवं नगर कार्यपालिकाका प्रवक्ता सुर्यबहादुर भट्टराई (मनोज)ले विगतमा धरानमा कर्मचारीहरु आउन चाहने तर पछिल्लो २ बर्षमा मेयर साम्पाङको कार्यशैलीको कारण आउनै डराउने गरेको बताए । ‘मेयरले आफै सही गरेर बैठक बोलाउने पत्र पठाए, त्यो प्रमुख प्रशासकीय अधिकृतले गर्ने हो । त्यसरी पत्राचार गर्नु अवैध हो, बैठक बसिहाले पनि औचित्य छैन,’उनले भने,‘विधि र प्रक्रियासम्मत बैठक बोलाउन आग्रह गछौं ।’

वडाअध्यक्ष भट्टराईले मेयर साम्पाङले निमित्त प्रमुख प्रशासकीय अधिकृत काम गर्ने वातावरण नदिएको बताए । ‘बजेटको तयारी छलफल पनि भएको छैन । निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्ने वातावरण छैन । कि नयाँ ल्याउनुपर्यो, कि निमित्तलाई काम गर्न दिनुपर्यो,’उनले भने । 

वडाअध्यक्ष भट्टराईले मेयर साम्पाङले ४० जनाभन्दा बढी अभियानकर्ता भनिएका आफ्ना मान्छेहरु नियुक्ती दिएको पनि बताए । ‘नगरपालिका र खानेपानी बोर्डमा विभिन्न नाममा कर्मचारी नियुक्ती भएको छ,’वडाअध्यक्ष भट्टराईले भने,‘उहाँको अभियानमा अहिले जागिरे अभियान शुरु भएको छ ।’

भिडियो: