धरान: ईलामकी सोनिका राईले एक साताअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियामार्फत बच्चा जन्माएकी थिइन् । आवश्यक उपचार पश्चात अस्पतालले उनलाई डिस्चार्ज गर्यो, तर अस्पताल र औषधीको खर्च तिर्न नसकेर घर फर्किन सकिनन् ।

उनका श्रीमान् खर्च ल्याउन भनेर गाउँ गएका थिए । चार दिन बित्दा पनि आइपुगेनन् । सुत्केरी सोनिका एक दिन त बेडमा भोकै बसिन् । उनको यो विचल्ली अवस्था धरान वडा नं ३ का वडा सदस्य मिङ्मा भोटेले थाह पाए । त्यसपछि उनी सोनिकाको उद्दार गर्ने पहलमा लागि परे । सोनिकाको उपचार खर्च अस्पताल प्रशासनको १७ हजार र औषधी पसलको २२ हजार तिर्नुथियो । 

जनप्रतिनिधि भोटेको पहलमा अस्पताल प्रशासनले १७ हजार रुपैया छुट गरिदियो, भने दाताहरुबाट ३० हजार रुपैया संकलन भयो । तर औषधी पसलमा पनि पहल गर्दा २२ हजारमध्ये १० हजार रुपैया मात्र लिने सहमति जनाएको भोटेले जानकारी दिए । औषधी पसलमा १० हजार तिरेर, ५ हजार गाडीलाई तिरेर बाँकी रकम १५ हजार पनि सोनिकालाई हात लगाएर वडा सदस्य भोटेले सोमबार विदाई गरेका थिए । विदाईको क्षणमा सोनिका भावविह्वल भएकी थिइन् । उनले सहयोगीहरुलाई धन्यवाद पनि दिइन् ।

sonika3 copy

वडा सदस्य भोटेका अनुसार सोनिकाको उद्दारको लागि धरान ३ निवासी चन्दा राई समुहबाट १६ हजार रुपैया सहयोग भएको थियो भने बाँझोगरा युवा समाजबाट ९ हजार र रत्न युथ क्लबबाट ५ हजार रुपैया सहयोग भएको थियो । आफ्नी कान्छी बैनीलाई भेट्न अस्पतालमा जादा सोनिकाको बारेमा वडा सदस्य भोटेले जानकारी पाएका थिए । सबै कुरा बुझ्दा दुःख लागेपछि उद्दार गरि घर फर्काउने पहल गरेको उनले बताए । 

‘अस्पताल प्रशासनमा पहल गरेर १७ हजार मिनाह भयो । सहयोगी हातहरुबाट पनि ३० हजार संकलन भयो, र औषधी पसलमा १० हजार, गाडीलाई ५ हजार तिरेर बाकी रकम सोनिकालाई नै दियौं,’ भोटेले भने,‘हामीले विदाई गर्दा सोनिका रोइन्, सबैलाई धन्यवाद पनि दिइन् ।’