धरान: खानेपानी व्यवस्थान बोर्डले अत्यधिक महशुल वृद्धि गरेको भन्दै आन्दोलनरत १० राजनीतिक दलहरुले बिहिबार धरान उपमहानगरपालिका घेराउ तथा धर्नाको क्रममा दिनभर तनावग्रस्त बन्यो ।
खानेपानी बोर्डको निर्णयविरुद्ध दुई सातादेखि चरणवद्ध आन्दोलनमा रहेका राजनीतिक दलहरुले आज (बिहिबार)देखि भने आन्दोलनलाई उपमहानगरपालिका केन्द्रीत बनाएका हुन् । बिहान साढे ९ बजेदेखि दलहरुले उपमहानगरपालिका गेटमा धर्नामा बसेका थिए । तर, दलहरुको धर्ना शुरु हुनुअवागै मेयर हर्कराज राई (साम्पाङ) कार्यालय प्रवेश गरेका थिए ।
मेयर साम्पाङले दलहरुलाई तत्काल वार्तामा बोलाउनुपर्ने भन्दै चर्को नाराबाजी पनि गरेका थिए । आन्दोलनमा विभिन्न राजनीतिक दलमा आवद्ध विद्यार्थीहरु पनि सहभागी भएका थिए । मेयर साम्पाङले वार्तामा बोलाउन ढिलाई गरेको भन्दै विद्यार्थीहरुले गेट तोडेर भित्र प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको थियो, र दिनभर नै उपमहानगरपालिका गेटअघि तनावग्रस्त स्थिति बनेको थियो ।

आन्दोलन चर्किएपछि मेयर साम्पाङ गेट नजिकसम्म आएर सम्बोधन गर्दै आइतबार वार्तामा आउन आह्वान गरेका थिए । तर राजनीतिक दलहरुले आइतबारसम्म नपर्खने भन्दै तत्काल वार्ता हुनुपर्ने अडान राख्दै आन्दोलनलाई निरन्तरता दिए । दलहरु मेयर साम्पाङको सम्बोधनमा सहमत नभएपछि विद्यार्थीहरु आक्रोशित हुदै पुनः गेट भत्काएर भित्र प्रवेश गर्न प्रयास गरेका थिए । त्यसक्रममा एक जना विद्यार्थी निर्घात कुटिएका थिए भने एक प्रहरीको हातको दुई औलामा गम्भीर चोट लागेको थियो ।
विद्यार्थी कुटिएपछि आन्दोलन झन् उग्र बन्यो, र उपमहानगरको गेटमाथि विद्यार्थीहरु चढेर बोर्ड फोड्ने प्रयास गरेका थिए । विद्यार्थी निर्घात कुटिएकोमा मेयर साम्पाङले माफी नमागेसम्म आन्दोलन नरोक्ने भन्दै विद्यार्थीहरु निरन्तर धर्नामा बसे । पटक पटक प्रहरीसँग विद्यार्थीहरुको मुठभेट पनि भयो । अन्तमा मेयर साम्पाङले पत्र पठाउदै घटनाप्रति दुःख व्यक्त गरेपछि विद्यार्थीहरुले आन्दोलन रोकेका थिए । त्यसबेला साँझको ६ बजिसकेको थियो ।

विद्यार्थीहरुले आन्दोलन रोकेपछि १० राजनीतिक दलहरुले सम्बोधन गर्दे आजलाई आन्दोलन स्थगित भएको तर आन्दोलन निरन्तर जारी रहेको उद्घोष गरेका थिए । मेयर साम्पाङले हचुवाको भरमा वार्तामा बोलाएकोमा आलोचना गर्दै दलहरुका तर्फबाट जसपा नेपालका अध्यक्ष तजुब लिम्बुले औपचारिकरुपमा पत्रमार्फत वार्तामा बोलाए तत्काल आउने पनि स्पष्ट पारे । साथै उनले १० दलको बटमलाइन महशुल वृद्धिको निर्णय वदर वा फिर्ता हुनुपर्ने भएको पनि प्रष्ट पारेका थिए ।
दलहरुले खानेपानी बोर्ड केन्द्रीत गरेको आन्दोलनलाई मेयर साम्पाङले नै उपमहानगरपालिकामा मोड्न बाध्य गरेको पनि उनले बताए । मेयर साम्पाङले निरंकुश र तानाशाही चरित्र देखाएको आलोचना गर्दै जसपा नेपालका अध्यक्ष लिम्बुले राजनीतिक दलहरुले भने सहकार्य, समन्वय चाहिरहेको बताए । 'तर सत्ताको दम्भले नगरको नेतृत्वले सहकार्य, समन्वयलाई उपहास गरिरहनु भयो, उहाँ निरंकुश बन्दै जानुभयो । हामीले त्यसलाई रोक्नै पर्ने थियो,' उनले भने, 'दलहरुले विधि मानिरहदा खानेपानी बोर्ड र नगर नेतृत्वले पनि विधि मान्नुपर्दैन ?'

खानेपानी बोर्डका अध्यक्ष एवं मेयर साम्पाङले साउनदेखि महशुल वृद्धि गर्ने निर्णय गरेका छन् । पदेन सदस्यहरुलाई समेत बैठकमा नबोलाई एकलौटी निर्णय गरेको भन्दै १० राजनीतिक दलहरुले उक्त निर्णयविरुद्ध आन्दोलन घोषणा गरेका थिए । दलहरुले दिएको ७२ घण्टाको अल्टिमेटम दिदा पनि वार्तामा नबोलाएपछि खानेपानी बोर्ड र बिल काउन्टरहरुमा तालाबन्दी गरेका थिए ।
त्यसविरुद्ध खानेपानी बोर्डका अध्यक्ष तथा मेयर हर्कराज राई (साम्पाङ)ले उच्च अदालत विराटनगरमा रिट दायर गरे । अदालतले खानेपानी जस्तो अत्यावश्यक वस्तुमा तालाबन्दी नगर्न र लगाएको ताला पनि तत्काल खोल्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो । उक्त आदेशपछि दलहरुले बोर्ड र काउन्टरको ताला खोल्दै आन्दोलनलाई नगरपालिका केन्द्रीत गरेको हो ।
भिडियो:
भिडियो:
भिडियो:
भिडियो:
भिडियो:







