धरान: मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघाबीच आफ्नो वडा १६ को योजना तथा कामको बिषयमा भएको सार्वजनिक भएपछि वडाअध्यक्ष मुरारी भट्टराईले सोमबार साँझ आकस्मिकरुपमा पत्रकार सम्मेलन गरेका छन् ।

उक्त पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले मेयर साम्पाङले विधि र प्रक्रिया विपरीत उपभोक्ता समिति गठन गरेको कारण लफडा भएको बताए । उनले मेयर साम्पाङले गरेको काम राम्रो भएपनि उपभोक्ता समिति गठन गर्ने प्रक्रियामा कानुन र विधि मिचेको बताए । ‘काम चाहिने ठाउँमा भएकै हो, दुरुपयोग गरेर बनाएको होइन, तर प्रक्रियासम्मत जाउँ भन्ने कुरा हो,’ अध्यक्ष भट्टराईले भने,‘उपभोक्ता समिति बनाउदा लाभग्राही, स्थानीय उपभोक्ताबाट नै बनाउनुपर्ने हो, तर तारजालीको उपभोक्ता अध्यक्ष वडा १४ को मान्छेलाई बनाइएको छ ।’

वडाअध्यक्ष भट्टराईले कानुन र विधिविपरीत उपभोक्ता समिति गठन भएकोबारे आफुले पटक पटक मेयर साम्पाङलाई ध्यानाकर्षण गराएपनि सुनुवाई नगरेको बताए । वडा नं १६ मा बहुभाषिक पाठशाला जोगाउन तारजाली लगाइएको छ भने पाठशालाअघिको बाटोमा ड्रेन निर्माण गरिएको छ । दुवै काम गर्नको लागि स्थानीयबासीभन्दा बाहिरको व्यक्तिलाई उपभोक्ता समितिको अध्यक्ष बनाइएकोमा आफुले पटक पटक भनेपछि ड्रेनको समितिको मान्छे मात्र मेयर साम्पाङले हेरफेर गरेको वडाअध्यक्ष भट्टराईको भनाई छ । ‘उहाँलाई तपाईले रोजेकै मान्छे राख्नुस्, तर कानुनसम्मत स्थानीयबासी नै होस् भनेर पटक पटक आग्रह गरे,’उनले भने,‘ड्रेनको समिति परिमार्जन भयो, तर तारजालीको भएन ।’

वडाअध्यक्ष भट्टराईले स्थानीयबासीको भेला गरेर वडाअध्यक्षलाई राखेर उपभोक्ता समिति गठन गर्नुपर्ने भएपनि त्यसो नभएको बताए । अर्को वडाको मान्छेलाई उपभोक्ता समिति अध्यक्ष बनाउदा अख्तियार दुरुपयोगको अभियोगमा छानबिनको दायरामा पर्ने भएकोले आफुले समर्थन र सही नगर्ने उनले बताए । ‘वडा १४ को मान्छेलाई अध्यक्ष बनाउनुभएको छ, त्यसमा मेरो समर्थन रहदैन । जबसम्म त्यो सच्याइदैन, तबसम्म सही गर्न जादिन,’उनले भने,‘अहिले पनि केही बिग्रेको छैन, त्यहीका मान्छेहरु राखेर प्रक्रियामा लगे भैगयो नि । भोली कसैलाई अफ्ठेरो नपर्ने गरी जे भएको हो, यथार्थमा टेकेर नियमसंगत लैजाने के आपत्ति छ र ?’

भिडियो: