धरान : धरान १६ नौलो वस्तीमा एक वालिकामाथी यौन दुर्व्यवहार भएको घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गर्दै गृहमन्त्रालयको ध्यानाकर्षण गराइएको छ ।
बाल संजाल धरानले बुधबार धरान १३ स्थित इलाका प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको हो । बालिकाप्रति भएको यौन दुर्व्यवहार क्षम्य नहुने भएकोले प्रशासन कुनै पनि हालतमा अभियुक्तलाई नियन्त्रणमा लिई कार्वाही गर्न ध्यानाकर्षण गराइएको छ ।
'हामी वाल सञ्जालका प्रतिनिधिहरु पनि घटना सार्वजनिक भएलगत्तै बालिका र बालिकाको परिवारलाई प्रत्यक्ष भेटेर जानकारी लिएको कुरा पनि तपाईलाई जानकारी गराउन चाहन्छौं,' पत्रमा भनिएको छ,'सञ्चारमाध्यमहरुले सार्वजनिक गरेको घटना र प्रतयक्ष हामीले भेटेर कुराकानी गर्दा घटना सत्य भएको पुष्टि हुन्छ ।'
दुर्व्यवहार गर्ने को हो भन्ने थाह नभए पनि उक्त घटनाको विषयमा जानकार तथा घटनालाई सामसुम पार्ने व्यक्तिहरुको नाम सञ्चारमाध्यममा आइरहेको र ती व्यक्तिहरुमार्फत अभियुक्तसम्म पुग्न सकिन्छ । 'तर, उक्त नाम भएका व्यक्तिहरुसङ्ग समन्वय किन भइरहेको छैन । यो कुराप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । उक्त व्यक्तिहरुसङ्ग समन्वय गर्न सके अभियुक्तसम्म पुग्न सकिन्छ भन्ने हाम्रो धारणा रहेको छ,' पत्रमा भनिएको छ ।
गत वैशाख दोस्रो साता मेयर हर्क साम्पाङको नेतृत्वमा बहुभाषिक पाठशाला जोगाउन श्रमदान भैरहदा एक बृद्ध श्रमदाता व्यक्तिले स्थानीय १३ बर्षकि वालिकालाई यौन दुर्व्यवहार गरेको घटना झन्डै २ महिना पछि सार्वजनिक भएको थियो । उक्त घटना श्रमदानको अगुवाई गर्ने व्यक्तिहरुले सार्वजनिक गर्न नदिइ गुपचुप मिलाएको भन्दै आलोचना भैरहेको छ । पीडित पक्षबाट प्रहरीमा निवेदन दिइएको भएपनि पीडिकको पहिचान खुल्न सकेको छैन ।
पत्रकारलाई कारवाही गर्न माग
सोही घटनासङ्ग सम्बन्धित भिडियो खिचेर पनि प्रशारण नगरेको भन्दै बाल संजालले पत्रकार विरुद्ध कारवाहीको माग गर्दै पत्रकार महासंघ सुनसरीमा पनि निवेदन दिएको छ ।
बाल सन्जालका रोजन संकर, शिवप्रसाद घिमिरे र सागर तामाङले पत्रकार महासंघ सुनसरी सदस्य रोहित राईलाई निवेदन दिएको हो । पत्रकार महासंघ सुनसरी सदस्य राईले निवेदन अध्यक्षलाई बुझाउने र छलफल गरेर निर्णय लिइने बताए ।