धरान: विद्यालयस्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल रनिङ्ग कप साउन १५ गतेदेखि हुने भएको छ ।
आयोजक डिपो स्कुलले सोमबार पत्रकार सम्मेलन गरेर प्रतियोगिता साउन १५ गतेदेखि १९ गतेसम्म हुने जानकारी दिएको हो । प्रतियोगितामा झापा, सुनसरी र मोरङ्गका गरि १६ वटा विद्यालयहरुले सहभागिता जनाउने आयोजक डिपो आर्दश बहुमुखी क्याम्पसका प्रमुख राजकुमार राईले जानकारी दिए । प्रतियोगितामा कक्षा १० सम्मका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगिताको विजेता टिमले नगद २० हजार रुपैया, उपविजेताले नगद १० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि र हाइ स्कोर उपाधि विजेताले ट्रफि र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता डिपो स्कुलको आयोजना, सुनसरी बास्केटवल र धरान बास्केटवल संघको विशेष सहयोगमा हुन लागेको हो ।
डिपो स्कुलको शैक्षिक, भौतिक विकास तथा उन्नयनमा महत्वपुर्ण योगदान दिएका दिवंगत मेजर श्रवणकुमार लिम्वुको स्मरणमा विगत चार बर्षदेखि यो प्रतियोगिता आयोजना हुदै आएको छ । पत्रकार सम्मेलनका प्रमुख अतिथि एवं डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्बर बहादुर लिम्बुका अनुसार प्रतियोगिताको लागि डिपो स्कुल र दिवंगत मेजर श्रवणकुमार लिम्बुको परिवारबीच सहकार्य रहेको छ ।
स्वर्गीय मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समिति वरिष्ठ सल्लाहकारको रुपमा १५ बर्ष, डिपो सार्वजनिक शैक्षिक गुठि व्यवस्थापन समिति अध्यक्षकोरुपमा १९ बर्ष र व्यवस्थापन समितिको अध्यक्षमा १६ बर्ष रहेर स्कुलको विकासमा महत्वपुर्ण योगदान दिएका थिए । उनकै पालामा प्लस टु र स्नातक तह अध्यापन शुरुवात भएको थियो । मेजर लिम्बुको कोरोना महामारीको कारण २०७८ साल साउन १५ गते निधन भएको थियो ।
पत्रकार सम्मेलनमा स्वागत मन्तव्यको क्रममा व्यवस्थापन समिति सदस्य सुर्य पन्धाक लिम्वुले मेजर श्रवणकुमार लिम्वुको योगदानको बारेमा प्रकाश पारेका थिए । प्रतियोगिताको सम्पुर्ण खेल धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ। प्रतियोगितामा सहभागिताका लागि अन्तिम दर्ता मिति श्रावण १२ गतेसम्म रहेको र खेल तालिका श्रावण १३ गते तयार गरिने आयोजकले जानकारी गराएको छ ।