धरान: धरान १७ का सनम राईलाई आफुसँगै दिल्ली लिएर जाने दीपक राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले आज दिउँसो धरान १७ स्थित मावली घरबाट दीपकलाई नियन्त्रणमा लिएको हो । आफुसँगै लिएर गएका सनम घाइते भएर निधन हुँदा पनि दीपक भने उनीसँगै नहुनु, घटनापछि मृतकका परिवारलाई जानकारी नगराउनुले शंकास्पद भएको र उनलाई नेपाल झिकाएर अनुसन्धान गर्नुपर्ने माग उठेको थियो ।
मृतक सनमकी दिदी इन्दिराले दीपकले आफु पनि घाइते भएर अस्पतालमा उपचार गराएको भनेपनि अहिले हेर्दा त्यस्तो नदेखिएको बताइन् । आफुहरुले भेटेर कुरा गर्नै नपाई प्रहरीले नियन्न्त्रणमा लगेको भन्दै उनले भनिन्,‘हिजो दिल्लीमा छुँ, आज मात्रै हिड्छु भन्ने मान्छे आज बिहानै कसरी धरान आइपुग्यो ? हामीलाई किन झुटो बोलेको ? झनै शंकास्पद भयो ।’ आफ्नो भाईलाई न्याय हुनुपर्ने भन्दै दिदी इन्दिारले घटनाबारे प्रहरीमा जाहेरी दिने पनि बताइन् ।
आमाबुबा दिल्लीमा रहेको कारण दीपकले उतै काम गर्ने भनेर आफुसँगै सनमलाई पनि लिएर गएका थिए । गएको बुधबार उनीहरु धरानबाट भारत हिडेका थिए । तर, बिहिबार पटनास्थित ट्रेन स्टेशनमा सनम गम्भीर घाइते अवस्थामा भेटिएका थिए भने दीपक सम्पर्कविहिन भएका थिए । दिपकको शुक्रबार बिहान पटनामा नै अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
सनम सँगै गएका दीपक पनि गायब भएपछि घटना रहस्यमय भएको थियो । शरीरमा लागेको चोटपटक हेर्दा सनम रेलबाट खसेर घाइते भएको नभै कुटपिट र लुटपाट भएको भन्दै परिवारजनले सँगै गएका दीपकमाथि नै शंका गरेका थिए । दीपकले मृतक सनमको परिवारमा सम्पर्क नगर्ने तर अन्य व्यक्तिमार्फत भिडियो पठाएर आाफु पनि घाइते भएको, रेलमा झगडा हुँदा दुवै जनालाई कुटेर रेलबाट फालिदिएको बताउने गरेका थिए । आफु पनि अस्पतालमा उपचार गरिरहेको भन्दै उनले धरान आउने भनेपनि दिल्ली पुगेको बताएपछि भने थप आशंका बढेको थियो ।
के भन्छन् धरानका डिएसपी ?
ईलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले घटनाबारे अनुसन्धानको लागि सोधपुछ गर्न दीपकलाई नियन्त्रणमा लिएको बताए । मृतक परिवारबाट जाहेरी आएको खुलाउदै उनले तत्काल भने दीपकविरुद्ध किटानी दिन नमिल्ने बताए ।
‘अहिले नै ऊ नै हो भन्न मिल्दैन, अनुसन्धानले भोली तथ्य, प्रमाणले भेट्यो भने प्रतिवादी बनाउने कुरा त छदैछ,’ डिएसपी जबेगुले भने,‘प्रारम्भिकरुपमा वयान गर्दा कुटपिट गरेर रेलबाट झारिदिएको भन्छ । तर, घटना कहाँ हो, कुन रेलमा हो, कुन समय र ठाउँमा हो, प्रत्यक्षदर्शी को को थिए, दुवै जनाको मोवाइल कहाँ छ, यस्ता डिटेल हेर्दछौं ।’
डिएसपी जबेगुका अनुसार घटना जहाँ भएपनि नेपाली नागरिकविरुद्ध भएको घटनामा नेपालमा जाहेरी दिन मिल्छ । ‘नेपाली नागरिक विरुद्ध जहाँ सुकै घटना भएपनि सम्बन्धित देशमा जोहरी दर्ता गरेर प्रक्रिया अघि बढाउन मिल्छ,’ उनले भने,‘गैरक्षेत्रीय क्षेत्राधिकार हुन्छ, हामी विदेशी सुरक्षा निकायसँग समन्वय गछौं, र कानुनी प्रक्रिया अघि बढाउछौं ।’
भिडियो: