धरान: प्रहरीले धरानको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार राती ११ बजे वडा ५ देउरालीबाट १९ बर्षीय समिर राईलाई लागुऔषधसहित पक्राउ गरेको हो । लागुऔषध ओसारपसार एवं कारोकार भइरहेको सुचनाको आधारमा अस्थायी प्रहरी चौकी श्यामचोबाट प्रहरी टोली खटिएको थियो । उक्त प्रहरी टोलीले समिरको कोठामा चेकजाँच तथा खानतलासी गर्दा डिकोलिक–३०७७ ट्याब्लेट र स्पास्पेन ५१७० ट्याब्लेट गरी कुल ८२४७ ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । 

यस्तै, धरान १३ स्थित विशाल मार्गबाट प्रहरीले २८ बर्षीय सञ्जय तामाङलाई पनि प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको छ । लागूऔषध कारोबार भइरहेको सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । सञ्जयको कोठामा खानतलासी गर्दा लुकाई राखिएको ट्रामाडोल–१६७ ट्याब्लेट र स्पास्पेन–५७२ क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ । कोठामा लागुऔषध फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको जनाएको छ ।