धरान: सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश धरानको टोलीले गाँजा बोकेको टेम्पोसहित एक युवालाई पक्राउ गरेको छ । 

धरान १३ फुस्रेस्थित सशस्त्र प्रहरीको सुरक्षा बेसबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदन आचार्यको नेतृत्वमा खटिएको चेकप्वाइन्ट टोलीले गाँजासहित टेम्पो र चालक नियन्त्रणमा लिएको हो । गए राती (सोमबार) करिब ८ बजेर १५ मिनेटमा धनकुटाबाट चिण्डेडाँडा हुदै धरान बजारतर्फ आइरहेको को २ ह ५९३४ नम्बरको टेम्पोलाई वडा १३ अमरपथमा शंका लागेर चेकजाँच गर्दा गाँजा वरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । 

टेम्पो चालक धरान वडा १३ निवासी अन्दाजी २८ बर्षका राकेश मरिक रहेको र पाँच पोका गाँजा (अन्दाजी १५० केजी) फेला परेको पनि सशस्त्र प्रहरीले जनाएको छ । टेम्पो र वरामद भएको गाँजासहित पक्राउ परेका मरिकलाई थप अनुसन्धान र कारबाहीको लागि इलाका प्रहरी कार्यालय धरानलाई बुझाएको पनि डिएसपी आचार्यले जानकारी दिए ।