धरान: धरान जेसीज वर्ष २०२५ का अध्यक्ष विदुर थापा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
पौष ४ देखि ७ गतेसम्म जनकपुरमा सम्पन्न नेपाल जेसीजको ५२ औं महाधिवेशनमा थापाले विजय हासिल गरेका हुन् । थापाले ८७७ मत प्राप्त गरेर विजयी भएका थिए ।
थापाले धरान जेसीजको अध्यक्ष हुँदा धरान जेसीजको स्वर्ण महोत्सवको अवसरमा धरान ३ मा चन्दपुर डबली समेत निर्माण गरेका थिए । शालिन व्यक्तित्वका धनी थापा व्यवसायमा संलग्न छन् ।
धरान जेसीजका पूर्व अध्यक्ष विष्णु बरालका अनुसार विदुर थापा धरान जेसीजको सदस्य सन् २०११ मा भएका थिए । सदस्य भएको १४ वर्षपछि धरान जेसीजको अध्यक्ष बनेका थापाले स्वर्ण महोत्सव कार्यक्रमपनि भव्यतापूर्वक सम्पन्न गरेका थिए ।
“विदुरजीको शालिनता र जेसीजप्रतिको लगावका कारण राष्ट्रिय उपाध्यक्ष भएपछि पक्कै पनि आफ्ना सिकाई र भोगाईहरुबाट प्राप्त ज्ञान र अनुभवले अन्य शाखामा जेसीज अभियानलाई अझ सुदृढ बताउनुहुने विश्वास छ,” बरालले भने ।
राष्ट्रिय अध्यक्षमा जीवन कार्की
नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा रामेछाप जेसीजका पूर्व अध्यक्ष जीवन कार्की निर्वाचित भएका थिए । गत वर्ष इटहरी महाधिवेशनमा राष्ट्रिय अध्यक्ष पराजित कार्कीले यस पल्टको महाधिवेशनमा जीत हात पारेका हुन् ।
कार्कीले ५१२ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वि विजय गुरुङ्गले कुल ४६२ मत प्राप्त गरेका थिए । जेसीजको कार्यक्रमहरु समयमा नै गर्ने र नेपाल भरिका उर्जावान् जेसीजका युवाहरुलाई प्रशिक्षणको माध्यमबाट नेतृत्व विकास गर्ने कार्कीले बताए ।







