धरान: कोशी राजमार्ग ६ लेनको सडक तीनकुनेसम्म विस्तार भएर आइसक्दा धरान बजार क्षेत्रमा भने किन विस्तार हुन नसकेको भन्दै स्थानीय सरकार प्रमुख अर्कमण्य भएको भन्दै प्रश्न तेर्सिने गरेको छ । 

बजार क्षेत्रमा मापदण्ड अनुसार नै ६ लेन सडक विस्तार गर्ने कि नगर्ने भन्ने बिषयले राजनीतिकरुपमा निर्णय हुन सकेको छैन । विगतमा ७२ फिट मापदण्ड कायम गरेर जाने र ६ लेन सडक बाइपास गर्ने पहल गरिएपनि सार्थक हुन सकेन । केही साताअघि मकवानपुरको हेटौडामा सरकारले कडा सुरक्षा प्रबन्ध गरेर सडक विस्तार गर्न बजार क्षेत्रमा डोजर चलाएपछि धरानको ६ लेन सडक विस्तारको बिषय पुनः बहसमा आएको थियो । 

आज १२५ औं धरान स्थापना दिवस समारोहमा नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले आफैले ६ लेन सडक विस्तारको बिषय निकाले, तर उनले बाटो बनाउन जनता उठिबास हुने गरि घर नभत्काउने आफ्नो पुरानै धारणा सार्वजनिक गरे । धरानमा पहिला नै सडकको मापदण्ड कायम गरेर घरनक्सा पास भइसकेको हुनाले कति मापदण्डमा भत्काउने भन्ने विलखबन्द भएको उनले बताए ।

‘बाटो ६ लनेको किन भानुचोकमा नबनाएको भन्ने प्रश्न उठिरहेको छ । त्यसमा सानो मापदण्ड बनाएर घर पास गरिसकेको हुनाले कत्रो भत्काउने हो ? २०६ फिट भत्काउनुपर्नेमा बिलखबन्दमा छ । त्यो पनि चाडै टुंंगिनुपर्छ,’ उनले भने,‘मैले बुझेको बाटो मात्र विकासको सुचक होइन । बनिसकेको सहरलाई तलैबाट आर्मी, मार्सल लगाएर भत्काउदै ल्याउदा सहरको रुप कस्तो होला भन्ने पनि सोच्नुपर्छ जस्तो लाग्छ ।’

dharan bajar 1

नगर प्रमुख राईले बस्ती भत्काउदा उचित मुआब्जा दिनुपर्छ भन्ने आफ्नो तर्क भएको पनि बताए । हेटौडामा राती ३ बजेदेखि कडा सुरक्षा दिएर बजारको घरहरु भत्काएको प्रसंग निकाल्दै राईले भने, ‘त्यस्तो तरिकाले पनि विकास हुदैन जस्तो लाग्छ । मान्छेलाई केन्द्रविन्दुमा राखेर विकास गर्नुपर्छ । मान्छेलाई विस्थापित गरेर, उठिबास गरेर हामीले बाटोहरु बनाएर विकास गरे भन्नु हाम्रो भ्रम मात्र हो । त्यो मान्छेलाई कसरी व्यवस्थापन गर्ने हो भन्नेतर्फ नगरपालिकाले सोच्नुपर्छ भन्ने मनसाय म राख्छु ।’

नगर प्रमुख राईले मान्छेको जीवन र प्रतिष्ठासँग पनि जोडिने भएकोले बाटोको नाममा घर भत्काएर निर्मम र निरंकुश रवैया देखाउने पक्षमा आफु नभएको प्रष्ट पारे । ‘मान्छेको नाम सोधेपछि घर कहाँ हो, कत्रो घर छ भनेर सोधिन्छ । मान्छेको जीवन, सामाजिक प्रतिष्ठासँग जोडिएको घरलाई बाटोको नाममा भत्काएर निमर्म र निरंकुश रवैया देखाउनुहुदैन भन्ने पक्षमा छु,’ उनले भने,‘त्यसैले ६ लेनको बाटोबारे केन्द्र सरकारसँग डेलिगेशन गएर कसो गर्ने, कसरी व्यवस्थित गर्ने भनेर टुंगो लगाउनुपर्छ भन्ने मनसाय राख्न चाहन्छु ।’ 

नगर प्रमुख राईले धरानको समस्याहरु समाधान गर्न सिमित स्रोत एवं बजेट भएर पनि आफुले भरमग्दुर प्रयास गरेको जिकिर गरे । धरानको धेरै समस्याहरुमध्येको  खानेपानी समाधान गर्न आफुले इमान्दार भएर प्रयास गरेको र टिमले नै साथ दिएको पनि बताए । ‘सबैले सघाउनुभयो, पहिला जस्तो पानीको समस्या अहिले छैन,’ उनले भने । प्रदेश सरकारले योजना दिएर सहयोग गरेको भन्दै राईले प्रदेशको योजनाबाट खनिएको वेलमा केही केही प्राविधिक बिषय टुंग्याउन बाँकी रहेको पनि बताए । 

125 dharan day

कोशीबाट पानी ल्याउन आफुले राष्ट्रिय बजेट खोजेको तर सरकारले ऋण दिन चाहेकोले अस्वीकार गरेको पुनः उनले दोहोर्याए । बजेट दिने भन्दै मन्त्री धरान आएको प्रसंगमा पनि उनले राजनीतिक प्रचारबाजी मात्रै थियो कि भन्ने लागेको पनि बताए । ‘ऋण कति लिने ? पहिलाकै ५२ करोड जति तिर्न बाँकी छ । ऋण चाहेको थिइन, मैले पानी मागेको थिए । ऋण आउन खोज्यो, त्यो पनि अपुष्ट कुरा छ,’ उनले भने,‘जहाँ ट्यांकी बनाउन खोजेको छौं, त्यहाँ वनले निहुँ खोजिरहेको छ, वनले जग्गा नै नदिइरहेको अवस्थामा कताबाट ऋणको कुरा । ती सबै कुरा राजनीतिक प्रचारबाजी मात्रै थिए कि भन्ने मलाई लागेको छ ।’ 

नगर प्रमुख राईले जनताको साथ सहयोग र आर्शिवाद मिलेमा आफै केन्द्रमा गएर राष्ट्रिय बजेटबाट कोशीको पानी ल्याउने चाहना रहेको पनि खुलाए । ‘तपाईहरुले पनि साथ दिनुस् । धरानको विकासको लागि गर्ने हो,’ उनले भने, ‘एक्लै नहिड्ने निर्णय गरेर मैले पनि पार्टी खोले । धरानको विकास कसरी गर्ने भन्ने बिषयमा हाम्रो एकता हुने नै छ ।’ धरानमा एयरपोर्ट बनाउने योजनालाई कार्यान्वयन गर्न आफुले प्रयास गरेपनि केन्द्र सरकारको अधिकार क्षेत्रमा पर्ने बिषय भएकोले सम्भव नभएको नगर प्रमुख राईले बताए । 

भिडियो: