धरान: धरान उपमहानगरपालिकाको प्रशासन प्रमुखको नेमप्लेट फाल्ने, झुटो विवरण तयार गरेर प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईको रमाना पत्र बनाउने कार्यमा संलग्न कर्मचारी प्रज्ञादेवी निरौलालाई कारबाही गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ । 

दशौं तहकी अधिकृत कर्मचारी निरौलाले कर्मचारी आचरण विपरीत कार्य गरेको ठहर गर्दै सुशासन तथा संस्थागत विकास समितिले कारबाही गर्न सिफारिश गरेपछि आइतबार बसेको कार्यपालिका बैठकले कारबाही स्वरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी फिर्ता पठाउने निर्णय गरेको हो । अधिकृत निरौलाले शुक्रबार उपमहानगरपालिकाको प्रशासन महाशाखा प्रमुख वेदप्रसाद सापकोटाको नेमप्लेट फालेकी थिइन् भने टाँस गरिएको सार्वजनिक सुचना च्यातेकी थिइन् । साथै, बन्द रहेको प्रशासन महाशाखाको कार्यकक्षको ढोका तोडफोड गरि खोलिदिन्छु भनि अशिष्ट शब्द समेत प्रयोग गरेको खुलेको छ । 

dharan magar karyapaliak

यसैगरि, प्रमुख प्रशासकीय अधिकृत चौलागाई कामको सिलसिलामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाण्डौं गएको बेला व्यक्तिगत विवरणसमेत झुटो तयार गरेर अनधिकृतरुपमा गैरकानुनी तवरले कार्यालयमा प्रयोग हुने लेटरप्याटमा कार्यालयको छापसँग मिल्दोजुल्दो छापसमेत प्रयोग गरि मास सिस्टमको दर्ता चलानीबाट चलानी नं.कोसमेत प्रयोग गरी निरौलाले आफै हस्ताक्षर गरेर रमाना पत्र बनाएकी थिइन् । उनले प्रमुख प्रशासकीय अधिकृत चौलागाईको रमाना पत्र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, काठमाण्डौंमा पठाएकी थिइन् । उनले उक्त पत्र कार्यालय समय पछि तयार गरेको पनि कार्यापालिका बैठकमा जानकारी गराइएको थियो ।

बैठकमा सुशासन एवं संस्थागत विकास समितिका संयोजक वडा नं १६ का अध्यक्ष मुरारी भट्टराईले आन्तरिक छानबिनको क्रममा देखिएको बिषय प्रस्तुत गरेका थिए भने सदस्य सचिव एवं प्रशासन महाशाखा प्रमुख वेद सापकोटाले प्रतिवेदन पढेर सुनाएका थिए । 

रमाना पत्र बदर गर्ने निर्णय

कार्यपालिका बैठकले कर्मचारी प्रज्ञादेवी निरौलाले गैरकानुनीरुपमा तयार गरेर पठाएको प्रमुख प्रशासकीय अधिकृत अम्बिाप्रसाद चौलागाईको रमाना पत्र बद गर्ने निर्णय गरेको छ ।

3

झुटो विवरण तयार गरि कार्यालय समय पछाडि उक्त पत्र तयार गरिएकोले प्रथम दृष्टिमै बदनियतपुर्ण र गैरकानुनी भएकोले बदर गर्ने निर्णय कार्यपालिकाले गरेको छ । साथै, रमाना पत्र बदर सम्बन्धमा सम्बन्धित निकायमा पत्राचार गर्ने पनि बैठकले निर्णय गरेको छ । 

चौलागाईलाई नै प्रमुख प्रशासकीय अधिकृतमा निरन्तरता

धरानको प्रमुख प्रशासकीय अधिकृतमा अम्बिकाप्रसाद चौलागाईलाई नै निरन्तरता दिने निर्णय कार्यपालिका बैठकले गरेको छ । चौलागाईको सरुवा भएपछि आर्थिक लगायत सम्पुर्ण कामकारबाही ठप्प भएको साथै निर्वाचन आचारसंहिता लागु भएको अवस्थामा तत्काल अर्को प्रशासकीय अधिकृत सरुवा भई नआउने भएकोले उनलाई नै कामकाज गर्ने व्यवस्थाको लागि निर्णय बैठकले गरेको छ । उनी धरानमा २०८१ मंसिर २४ गते सरुवा भई आएका थिए । 

भिडियो:

भिडियो: