धरान: २६ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको आयोजक धरान फुटबल क्लबले जनाएको छ । 

धरान १६ स्थित रंगशालामा आयोजक क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै माघ २२ गतेदेखि शुरु हुने गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । क्लबका अध्यक्ष प्रताप तामाङले भने,‘सबै तयारी पुरा भइसक्यो । अब शुरु गर्न मात्र बाँकी छ । भोलीदेखि टिमहरु आउन थाल्छन् ।’

अध्यक्ष तामाङका अनुसार भोली बुधबार भुटान र भारतको टिम आइपुग्नेछ । प्रतियोगिता सञ्चालनको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीबाट केही सर्तहरुसहित स्वीकृति पाएको पनि उनले बताए । निर्वाचनको कारण प्रशासनले कार्यक्रमहरु आयोजनामा कडाई गरेको बेला बिशेष अनुरोधमा प्रतियोगिताको लागि स्वीकृति पाएको उनले खुलाए ।

बिशेष परिस्थितिकै कारण प्रतियोगिताको उद्घाटन सामान्य हुने आयोजक क्लबले जनाएको छ । तर, उद्घाटन खेलअघि दुवै टिमका खेलाडीहरु मैदान प्रवेश गर्दा अटिज्म भएका बच्चालाई साथमा लिएर प्रवेश गर्ने पनि अध्यक्ष तामाङले जानकारी दिए । उनले भने,‘अटिज्मबारे सचेतना जगाउनको लागि र अटिज्म भएका बच्चाहरुलाई माया गरौं भन्ने सन्देश दिनको लागि हो ।’

budha subba goldcup

प्रतियोगितामा साविक विजेता एनआरटि, उपविजेता चर्च ब्वाइजसहित सातदोबाटो युथग क्लब, नेपाल पुलिस क्लब, पोखराको लालीगुराँस एशोसिएशन, झापा ११, जर्जियन क्लब भारत, रोयल थिम्पु भुटान र आयोजक धरान फुटबल क्लब गरि १० वटा टिम सहभागी हुने आयोजकले जनाएको छ ।

यसपाली आयोजकको टिममा धरानको मात्रै खेलाडीहरु सहभागी गराइने पनि अध्यक्ष तामाङको भनाई थियो । ‘हामीलाई उपाधि जित्नै पर्ने दबाब छ । पाँच पटक फाइनल खेल्दा पनि उपाधिविहिन छौं । यसपाली २ महिनादेखि खेलाडीहरुलाई प्रशिक्षण गराइरहेका छौं,’ उनले भने ।

budha subba1

प्रतियोगिताको विजेता टिमले उपाधि ट्रफीसहित नगद १० लाख र उपविजेताले ५ लाख पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउने पनि आयोजकले जनाएको छ । फाइनल खेल्ने दुई टिमबाट उत्कृष्ट खेलाडी छनौट गरेर उक्त पुरस्कार दिइने पनि उनले खुलाए । प्रतियोगिताको प्रिक्वार्टर खेलहरुको टिकटदर सय रुपैया, सेमीफाइनलको २ सय र फाइनलको ४ सय रुपैया रहेको पनि अध्यक्ष तामाङले बताए । विद्यार्थहरुलार्य प्रिक्वार्टरको ५० र सेमीफाइनलको सय रुपैया टिकट लाग्नेछ भने फाइनलमा छुट नदिइने पनि उनले प्रष्ट पारे । 

पत्रकार सम्मेलनमा गुरुङ बिबिक्युका सञ्चालकले आयोजक क्लबका प्रशिक्षकहरुलाई ट्रयाक सुट वितरण गरेका थिए । प्रतियोगिताको उद्घाटनमा धरानका कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघा प्रमुख अतिथि रहनेछन् । उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र जर्जियन क्लब भारतबीच हुनेछ । 

भिडियो