धरान: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुरा कार्यकाल (पाँच बर्ष) टिकाउनेबारे निर्वाचन अघि राष्ट्रिय संवाद गर्न दलहरुलाई अपिल गरेका छन् ।
बिहिबार भानुचोकमा आयोजित सुनसरी क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेद्वार सुजेन्द्र गोले तामाङको प्रतिवद्धता घोषणासभालाई सम्बोधन गर्दै शर्माले अन्य दलहरुलाई यस्तो अपिल गरेका हुन् । उनले प्रजातन्त्र स्थापना भएको ७५ बर्षमा पनि कसैले लगातार एक कार्यकाल (५ बर्ष) प्रधानमन्त्री चलाउन नपाएको र पछिल्लो ३४ बर्षमा ३० जना प्रधानमन्त्री भएको पृष्ठभुमीमा जेनजी विद्रोह हुनुको एउटा कारण रहेको बताए । अब पाँच बर्ष प्रधानमन्त्री टिकाउने पद्दतीबारे निर्वाचन अघि राष्ट्रिय संवाद गर्न उनले दलहरुलाई अपिल गरे।
‘अब ५ बर्ष प्रधानमन्त्री टिकाउने पद्दती के हुनसक्छ ? यो निर्वाचन अघि सम्भव हुन्छ भने संवाद गरौं । म धरानबाट राष्ट्रिय संवादको लागि अपिल गर्न चाहन्छु,’ उनले भने,‘यो निर्वाचन पछाअडि सबैभन्दा ठुलो दल जो बन्छ, त्यो दललाई सम्पुर्णरुपमा ५ बर्ष सरकार चलाउन दिएर दोस्रो र तेस्रो भएको दलहरु प्रतिपक्षमा सम्पुर्ण ५ बर्ष बसेर कोही पनि सहभागी नभै पहिलो भएको दललाई सरकार सुम्पन तयार हुनुहुन्छ ? के तयार छौं हामी ?’

उनले राष्ट्रिय संवादको अपिल गर्दै पाँच बर्ष प्रधानमन्त्री टिकाउन पनि पाँच चरणहरु रहने प्रस्ताव पनि खुलाएका थिए । ‘निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर जसले सर्वाधिक सिट सुनिश्चित गर्छ, उसलाई ५ बर्ष पुरै सरकारको नेतृत्व गर्न दिने । त्यसो भन्दै गर्दा बहुमत नपुगे के गर्ने ? उसलाई नपुग्ने सिट संख्या निर्वाचन आयोगमा बुझाइएको सुचीबाट पहिला सुनिश्चित गरिदिने,’ शर्माले भने, ‘त्यति भएपछि एउटा दल १३८ को आकडको साथ प्रधानमन्त्री बन्छ । त्यो बनिसकेको दलले १० दिनभित्रै संसदमा विश्वासको मत लिने ।’
दोस्रो चरणमा जादै गर्दा त्यो दलले विज्ञहरुसहितको मन्त्रीमण्डल बनाउने र त्यसरी बनेको सरकारलाई तेस्रो चरणमा जादै गर्दा २ बर्षसम्म उसले गरेको कामलाई हेरेर विश्वासको मत लिने बनाउनुपर्ने शर्माले प्रस्ताव गरे ।
‘विगतको भन्दा रोजगारी सृर्जना बढ्यो कि बढेन, बजेटको खर्चको आकार बढ्यो कि बढेन, सुशासनको आकार बढ्दै भ्रष्टचार नियन्त्रण हुदै गयो कि गएन ? विगतमा भन्दा बढ्नुपर्ने सुचकहरु बढ्यो कि बढेन ? निश्चित सुचाकांकको आधारमा मात्र विश्वासको मत दिने कि नदिने भन्ने पद्दती वमोजिम टुंगोमा पुग्नुपर्छ,’ उनले भने,‘फेरि यसरी टुंगोमा पुग्दै गर्दा २ बर्षमा विश्वासको मत प्राप्त गरेको अवस्था भयो भने बाँकी ३ बर्षमा नचलाईकन पुरा अवधि ५ बर्ष देशको प्रधानमन्त्री बन्न दिने । तर यसो भन्दै गर्दा भ्रष्टाचचरको कुनै मुद्दामा अदालतबाट प्रमाणीत भयो भने या त राजिनामा गर्छन् या दुई तिहाईको प्रधानमन्त्रीलाई महाभियोग लगाएर हटाउनसक्ने । दुईतिहाई लगाएर हटाउने बेला आफ्नो दलको ह्विप लगाएर सांसदहरु कसैलाई रोक्न नपाउने ।’

यसरी बनेको प्रधानमन्त्री जतिसुकै लोकप्रिय भएप्नि वा भिजन भएकै भएपनि एउटा प्रधानमन्त्रीलाई केवल २ पटक मात्र प्रधानमन्त्री बनाउने भनेर कांग्रेसको बिशेष महाधिवेशनले पारित गरेको उपभासपति शर्माले बताए । ‘राष्ट्रपति एक पटक मात्र, मन्त्री ३ पटक भन्दा बढी बन्न नपाउने । सांसद बन्दै गर्दा ४ पटक बढी बन्न नपाउने र सामानुपातिक एक पटक मात्र बनाउने भनेर कांग्रेसको बिशेष महाधिवेशनबाट पारित भएको छ,’ उनले भने,‘राजनीतिमा निरन्तर रुपमा बगिरहने नदीजस्तो नेतृत्वलाई लिएर आउने हो, कोही गएर जमेर पोखरी बसेजस्तो होइन । त्यसो भयो भने नेतृत्वमा ताजापन रहीरहन्छ । जेनजी आन्दोलनले भनेको के हो भने नेतृत्वमा वदलाव छैन, हामी त्यसलाई सम्बोधन गर्न चाहन्छौं, के यो बिषयमा अन्य दल तयार हुने हो ? यो प्रकारको संवाद गर्यौं, सहमत भयो भने स्वभाविकरुपमा डकुमेन्ट बनाउन सकिन्छ ।’
नेता शर्माले बिशेष महाधिवेशनबाट कांग्रेस वदलिएको र देश वदल्ने संकल्प बोकेका सभापति गगन थापालाई प्रधानमन्त्री बनाउन सुनसरी क्षेत्र नं १ बाट उम्मेद्वार सुजेन्द्र तामाङलाई जिताउन पनि अपिल गरेका थिए । सभामा केन्द्रीय सहमहामन्त्री डिला संग्रौलाले सम्बोधन गर्दै देश बनाउनको लागि संकल्प, अठोट र प्रतिज्ञा चाहिने र कांग्रेसले सोही प्रतिज्ञा गरिसकेकोले जित्नै पर्ने बताइन् । उम्मेद्वार तामाङले युवाहरुलाई रोजगारी सृर्जना गर्ने, ग्रिनसिटी बनाउने, पर्यटन विकास गर्ने, सुकुम्बासी र खानेपानी समस्या हल गर्ने प्रतिवद्धता गरेकोले जिताउनुपर्ने बताइन् ।
भिडियो:
भिडियो:







