धरान: चर्चित गायक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेद्वार प्रकाश सपुतले अघिल्लो निर्वाचन २०७९ मै सुनसरी क्षेत्र नं १ ले परिवर्तनको सन्देश दिइसकेको र यसपालीको निर्वाचनले परिवर्तन ल्याएरै छोड्ने बताएका छन् । 

चुनावी अभियानको क्रममा आज (शुक्रबार) दिउँसो सुनसरी १ मा रास्वपा उम्मेद्वार सरिन तामाङ (गोमा)को घरदैलोमा सघाउन धरान आइपुगेका गायक सपुतले कोणसभामा यस्तो बताएका हुन् । भानुचोक ट्याक्सी स्ट्याण्डमा आयोजित कोणसभालाई सम्बोधन गर्दै सपुतले यसपटक सुनसरी १ ले परिवर्तनको सन्देश दिने र देशले सशक्त महिला नेतृ पाउने बताए । 

‘सुनसरी १ ले ०७९ सालमै एउटा सन्देश दिइसकेको छ कि परितर्वन आवश्यक छ, नयाँ युवाहरु आउन आवश्यक छ, सरिन तामाङहरु आउन आवश्यक छ । त्यसबेला जितको नजिक थियौं, परिवर्तनको नजिक पुगेको हो,’ उनले भने,‘३, ४ सयको अन्तरालले पछि परेको थियौं, यसपाली बढेर ८ हजार बढी मतले विजयी हुनेछ भन्ने अपेक्षा गर्न चाहन्छु । परिवर्तनको सन्देश धरानले दिनेछ, देशले सशक्त महिला नेतृ पाउनेछ, र सदनमा सरिन तामाङको आवाज गुञ्जनेछ ।’

रास्वपाका समानुपातिक उम्मेद्वार सपुतले सरिन तामाङको आँट, क्षमता र साहस देशभरिका महिलाहरु एवं परिवर्तनकामी जनताको लागि ठुलो सन्देश हुने पनि धारणा व्यक्त गरेका थिए । अघिल्लो पटकको निर्वाचनमा थोरै मतले पछि परेको भन्दै उनले यसपाली वदला लिदै धेरै मतले विजयी हुने पनि अपेक्षा व्यक्त गरेका थिए । २०७९ को निर्वाचनमा पनि रास्वपा उम्मेद्वार रहेकी तामाङले १६ हजार ६०६ मत ल्याएकी थिइन् । त्यसबेला उनी एमालेले समर्थन गरेको जसपाका नेता अशोक राईसँग मात्र ४५३ मतले पराजित भएकी थिइन् । 

भिडियो:

भिडियो: