धरान : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ मा कुल २६ जना उम्मेद्वारहरु छन् । ती मध्ये एक युवा उम्मेद्वार हुन्, टीकाराम लिम्बू (माङ्लेन) । उनी नेकपा (एमाले)बाट उम्मेद्वार हुन् ।
गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछिको बिषम राजनीतिक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा एमालेले सुनसरी १ मा ४१ बर्षीय युवालाई टिकट दिएर सबैलाई चकित पनि बनाएको छ । २०४६ को परिवर्तन पछि २०६४ को संविधानसभा निर्वाचनबाहेक अन्य निर्वाचनमा सधै जितिरहेको एमालेको विरासत जोगाउने जिम्मा पनि युवा उम्मेद्वार लिम्बूको काँधमा छ । अघिल्लो पटक २०७९ मा भएको निर्वाचनमा एमालेकै समर्थनमा जसपा नेता अशोककुमार राईले यहाँबाट जितेका थिए ।
सुनसरी १ मा उम्मेद्वारहरु मध्ये मध्ये सालिन स्वभावका तर विचारले खारिएका अब्बल युवा नेता हुन् लिम्बू । उनी कानुनमा स्तानक र राजनीतिशास्त्रमा एमए अध्ययन पुरा गरेका छन् । उनी यो निर्वाचन केवल प्रतिनिधि छान्ने मात्र नभै नीति र विचारको छनौट गर्ने महत्वपुर्ण अवसर भएको बताउँछन् । उनी भन्छन्, ‘यो निर्वाचनको दुई वटा महत्व छ । उमेदवारहरुको छनौट मात्रै होइन, नीति र विचारको छनौट गर्ने पनि हो ।’
लिम्बूको भनाईमा नीतिले उद्देश्य पुरा गर्ने मार्गदर्शन बनाउछ । ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना विचार र सोचले ल्याउने उनको भनाई छ । ‘हाम्रो पार्टीले समृद्ध नेपाल र सुखी नेपालीको सपचना बनाएको छ, यो विचार र सोचले ल्याउछ,’ उनको भनाई छ ।

आमजनताले नीति र विचार नभएको पार्टीलाई छान्न नहुने र नछान्ने पनि उनी विश्वास व्यक्त गर्छन् । ‘म त जनताको भावनाबाट निर्माण भएको नीति र विचारको कसिमा काम गर्न उभिएको जनताको सेवक हुँ,’ आफ्नो प्रतिवद्धता व्यक्त गर्दै उनले भने,‘जनतासामु देखिने, सबै बीच सुनिने र मेरो क्षेत्रको जनताको मनमस्तिष्कमा महसुस हुने काम गरेर देखाउछुँ ।’
प्रतिनिधिसभा सदस्य नीति निर्माण गर्ने, कानुन बनाउने र विचार निर्माण गर्ने जनप्रतिनिधि चयन गर्नको लागि हुने हो । तर नेपालमा प्रतिनिधिसभा सदस्यका उम्मेद्वारहरु पनि स्थानीय चुनावमा जस्तरी नै भौतिक पुर्वाधार निर्माणलगायत विकासका एजेण्डा लिएर मतदातामा पुग्नुपर्ने बाध्यता छ । यो बिषयमा उम्मेद्वार लिम्बू भने प्रष्ट छन् ।
उनी भन्छन्, ‘संसदमा के गर्न जाने हो भनेर प्रष्ट छुँ । राजनीतिशास्त्र र कानुनका विद्यार्थी भएकोले पनि प्रतिनिधिसभामा मेरो भुमिका के हुन्छ भन्नेमा द्धिविधा छैन । तर जनताको जीवनसँग जोडिएका समस्याहरुको समाधान गर्न, विकास निर्माण र आवश्यकताहरु पुरा गर्न म प्रतिवद्ध रहनेछुँ, निरन्तर पहल गर्नेछुँ ।’
स्कुले जीवनमा नै राजनीतिमा प्रवेश
लिम्बूको पुख्यौली थलो ताप्लेजुङ हो । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा बुवा देउकुमार लिम्बू ताप्लेजुङको मामाङ्खे गाविसमा राप्रपाका तर्फबाट उपाध्यक्षको उमेदवार थिए । एमालेसँग राप्रपाको गठबन्धन थियो, र अध्यक्षमा एमालेका उमेदवार थिए । निर्वाचनमा गठबन्धनका उमेदवारहरुले जितेको थियो । बुवाको चुनावी अभियानमा होमिएका १३ वर्षीय टीका माङ्लेनको मन भने एमालेको चुनाव चिह्न सूर्यले जितिसकेको थियो । एमाले नेता, कार्यकर्ताहरुको हार्दिकता र जनताप्रतिको सम्मानभावबाट उनी प्रभावित भएका थिए ।
पार्टी भनेको एमाले जस्तो, नेता एमालेको जस्तो हुनुपर्छ र चुनाव चिह्न सूर्य जस्तै हुनुपर्छ भन्ने गहिरो छाप टीकाको बालमनस्थितिमा परेको थियो । त्यसबेला उनी गाउँको सिनाम माध्यमिक विद्यालयमा पढ्दै थिए । २०५६ सालमा ९ कक्षामा पढ्दै गर्दा विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को सदस्य बने । र, निरन्तर नेकपा (एमाले) को विचारमा जीवनपर्यन्त लागिरहने प्रण गरे ।
एसएलसी पछि इलाम हुदै धरानमा उच्च शिक्षा र विद्यार्थी राजनीति

२०४१ साल भदौ २१ गते ताप्लेजुङ, साविक मामाङ्खे हाल श्रीजंघा गाउँपालिका वडा नम्बर ६ मा आमा सुनमाया लिम्बू (इधिङ्गो) र बुवा देउकुमार चार दाजुभाइमध्ये माइलो छोरा हुन् टीका । उनी हाल श्रीमती सीमा लिम्बू (साम्मेखाम) र छोरा अनुरो लिम्बूसहित धरान १० सेवालुङ चोकका स्थायीबासी छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर र एलएलबी गरिसकेका उनी सिनाम माविबाट एसएलसीपछि २०५८ सालमा इलामस्थित महेन्द्ररत्न क्याम्पसमा आइकम पढ्न गएका थिए । त्यसैबेला क्याम्पसको क्लास कमिटीमा रहेर विद्यार्थी राजनीतिमा उनी जोडिएका थिए ।
२०६० सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानमा पुनः आइए अध्ययन थालेपछि क्याम्पसमा मर्निङसिफ्ट कमिटी सदस्य भएर काम थालेका थिए । उनी २०६२ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य निर्वाचित भए । २०६३ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष बनका उनी २०६७ सालमा अनेरास्ववियु सुनसरी जिल्ला कमिटी अध्यक्ष हुँदै २०६९ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेर विद्यार्थी आन्दोलनमा स्थापित भए ।
पार्टी राजनीतिमा टिका:
२०५४ सालदेखि विद्यार्थी राजनीतिमा होमिएका टिकाले नेकपा (एमाले) को संगठित सदस्यता भने २०६४ सालमा मात्रै पाएका थिए । सोही बर्ष नेकपा एमाले, धरान १० नम्बर वडा कमिटी सचिवको जिम्मेवारी पाएका थिए । २०६५ सालमा नेकपा (एमाले) धरान नगर कमिटी सदस्य र २०६८ सालमा नगर सचिवालय सदस्यको जिम्मेवारी पनि उनले सम्हालेका थिए ।
२०७७ सालमा सुनसरी जिल्ला कमिटी सदस्य, २०७८ सालमा नेकपा (एमाले) सुनसरीको सातौं जिल्ला अधिवेशन र २०८१ सालमा भएको आठौं जिल्ला अधिवेशनबाट समेत उनी सदस्य निर्वाचित भएका थिए । २०७२ को भूकम्पबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि पार्टीले सञ्चालन गरेको अभियानमा स्वयम् सेवकका रुपमा जनताको कामसँगै २०७३ सालमा पार्टीले सञ्चालन गरेको मेची महाकाली अभियानमा पनि उनले स्वयम्सेवकको भूमिका निर्वाह गरेका थिए ।
लोकतान्त्रिक आन्दोलन, हिरासत र यातना:
तत्कालीन राजा ज्ञानेन्द्र शाहको राजनीतिक कु का विरुद्धको आन्दोलनमा विद्यार्थी नेताका रुपमा निरन्तर आन्दोलनको मोर्चामा रहँदा लिम्बू पटक पटक गिरफ्तार र राज्यको तर्फबाट यातना पनि भागेका योद्धा हुन् । उनले २०६२/०६३ सालको जनान्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका थिए ।
संक्षिप्तमा टिकाराम लिम्बू (माङ्लेन)
जन्म– २०४१ भाद्र २१, ताप्लेजुङ, मामाङ्खे/ श्रीजंघा– ६
हाल– स्थायी, धरान १०, सेवालुङ चोक
आमा– सुनमाया लिम्बू (इधिङ्गो)
बुवा– देउकुमार लिम्बू
श्रीमती– सीमा लिम्बू (साम्मेखाम)
छोरा– अनुरो लिम्बू
शिक्षा
स्नातकोत्तर (राजनीति शास्त्र)
स्नातक (एलएलबी)
विद्यार्थी राजनीति
२०५६– सिनाम मावि ताप्लेजुङ (कक्षा ९) अनेरास्ववियु
२०५८ – महेन्द्ररत्न क्याम्पस इलाम
२०६० – महेन्द्र क्याम्पस धरान क्याम्पस कमिटी सदस्य
२०६२– सदस्य, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) महेन्द्र क्याम्पस, धरान
२०६३– क्याम्पस कमिटी अध्यक्ष
२०६५– क्याम्पस कमिटी अध्यक्ष, दोस्रो कार्यकाल
२०६७ – अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष, सुनसरी
०६९– अनेरास्ववियु, केन्द्रीय सदस्य
पार्टी राजनीति
२०६४– सङ्गठित सदस्य, नेकपा एमाले
२०६४– वडा सचिव, नेकपा एमाले, धरान १०
२०६५– नगर सदस्य, नेकपा एमाले, धरान नगर कमिटी
२०६८– सचिवालय सदस्य
२०७७ – जिल्ला कमिटी सदस्य
२०७८ – नेकपा एमाले सातौं जिल्ला अधिवेशन सुनसरी, निर्वाचित सदस्य
२०८१ – नेकपा एमाले आठौं जिल्ला अधिवेशन सुनसरी, निर्वाचित सदस्य
अभियान
२०७२ – भूकम्पबाट प्रभावित क्षेत्रको पुनर्निर्माण अभियान (राष्ट्रिय स्वयम् सेवक)
२०७३ – मेची महाकाली अभियान (राष्ट्रिय स्वयम् सेवक)
सामाजिक आबद्धता
२०६३– लिम्बू विद्यार्थी मञ्च, केन्द्रीय सदस्य,
२०६४– किरात याक्थुङ चुम्लुङ, सदस्य
२०६७ – ताप्लेजुङ सुनसरी सरोकार समाज (आजीवन सदस्य)
२०७३ – नेपाल रेडक्रस सोसाइटी (आजीवन सदस्य)
हिरासत
२०६२/६३– जनान्दोलन







