धरान: नेपाल विद्यार्थी संघ (नेविसंघ)ले रिक्त रहेको कोशी प्रदेश अध्यक्षमा केन्द्रीय सदस्य दोर्ची शेर्पालाई मनोनित गरेको छ।

संघका केन्द्रीय कार्यसमिति अध्यक्ष दुजाङ शेर्पाले उनलाई प्रदेशको अध्यक्षमा मनोनित गरेका हुन् । नेविसंघको विधानअनुसार उनलाई केन्द्रीय अध्यक्षले कोशी प्रदेश अध्यक्षको जिम्मेवारी दिएको संघले जनाएको छ । 

राजनीतिसँगै विभिन्न संघसंस्थाहरुमा आवद्ध रहेका शेर्पाले २०६८ सालमा नेविसंघको साधारण सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनी शेर्पा संगठनभित्र विभिन्न जिम्मेवारीवहन गरेर अघि बढेका युवा नेता हुन् । 

उनी २०६९ सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानमा सदस्य बनेका थिए । २०७२ मा इकाई समितिको सह–सचिव निर्वाचित भए भने २०७३ सालमा स्ववियु सचिवमा निवार्चित भएर विद्यार्थी हक–हित, शैक्षिक सुधार र वैचारिक समन्वयमा सक्रिय भूमिका खेलेका थिए।

२०७५ सालमा क्याम्पस इकाई समितिको कार्यवाहक अध्यक्ष भएका शेर्पा २०८० सालमा नेविसंघको केन्द्रीय सदस्यमा मनोनित भएका थिए। विद्यार्थी राजनीतिसँगै उनी २०६९ सालदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्य पनि हुन् । 

२०७९ सालको कांग्रेस महाधिवेशनमा कोशी प्रदेशको खुल्लातर्फबाट एक नम्बरमा प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

dorchi.jpeg