धरान" क्युआरटि बिघटन गरेर सुरक्षा विभाग गठन गर्ने आफ्नो घोषणाविरुद्ध प्रेस विज्ञप्ती जारी गर्ने नेता, कार्यकर्ताहरुलाई पार्टीबाट निष्कासन गर्ने श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले बताएका छन्।

उनको निर्णयविरुद्ध हिजो क्युआरटि संयोजक ज्ञानु चाम्लिङले थप ३४ जनाको नामसहित प्रेस विज्ञप्ती जारी गरेका थिए । विज्ञप्ती जारी भएपछि साम्पाङले त्यसतर्फ लक्षित गर्दै निर्देशन विपरीत जानेलाई कारबाहीको गर्ने भन्दै आज मंगलबार बिहान लगातार २ वटा फेसबुक पोष्ट गरेका छन् । पहिलो पोष्टमा निर्देशन नमान्नेहरुलाई पार्टीबाट निलम्बन गरिने र निलम्बित सदस्यहरुले अटेर गरिरहेको पाइए सधैको लागि निष्काशन गरिने उल्लेख गरेका छन् । 

साम्पाङले पुनः अर्को पोष्ट गर्दै निर्देशन विपरीत जाने र गुटबन्दी गर्ने सबैलाई पार्टीलाई पार्टीबाट निष्काशन गरिने बताएका छन् । साथै उनले कोही कसै यो कारबाहीमा नपर्न र कसैलाई नपार्न अनुरोध पनि गरेका छन् । क्युआरटि संयोजक चाम्लिङसहित विज्ञप्ती जारी गर्नेहरुले आफुहरुसँग कुनै सरसल्लाह व छलफल नगरी क्युआरटि बिघटन र सुरक्षा विभाग गठनको घोषणा भएको र यो विधानविपरीत तथा अलोकतान्त्रिक भएको पनि जनाएका छन् । 

क्युआरटि बिघटन र सुरक्षा विभाग गठनको प्रक्रिया नरोकिए आफुहरुले नै क्युआटिलाई पुर्नगठन गर्ने पनि विज्ञप्तीमा घोषणा गरेका छन् । साथै, उनीहरुले पार्टीभित्रको विसंगति, स्वेच्छाचारिता तथा विधान विपरीतका गतिविधिहरुको भण्डाफोर गर्दै पार्टी शुद्धिकरण अभियान सञ्चालन गर्ने पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।

पछिल्लो समय श्रम सँस्कृति पार्टीमा गुटबन्दी र असन्तुष्टी चुलिदै गएको छ । आगामी स्थानीय चुनावमा मेयरको उम्मेद्वारको चयनले पार्टीभित्र गुटबन्दी र असन्तुष्टी झ्यागिएको नेता, कार्यकर्ताहरु बताउने गरेका छन् । क्युआरटिभित्रको विवाद र गुटबन्दी यसअघि पनि सामाजिक सञ्जालमा छताछुल्ल भएको थियो।