धरान: पत्रकारको काम तथा जिम्मेवारी हो, तथ्यहरुको खोजी गर्नु अनि समाचार लेख्नु । उनले पनि यही जिम्मेवारी पुरा गरेका थिए । तर, उनले जब सुनसरीको चतराधाममा आश्रम बनाएर बसेका कथित सिद्धबाबा उर्फ कृष्णदास गिरीको कर्तुत पर्दाफास हुने गरी समाचार लेखे, तब नसोचेकेको कानुनी झञ्झट आइलाग्यो ।

धरानलाई कर्मथलो बनाएर पत्रकारितामा करिब अढाई दशक बिताएका प्रदीप मेन्याङ्बो अहिले कानुनी लडाईमा छन् । सिद्धबाबा भनिएका कृष्णदासबारे समाचार लेखेपछि उनलाई कृष्णदासका दुई भक्तजन महिलाहरुले मानहानीको मुद्दा दायर गरे । सिद्धबाबाको चेली भनिएका भारत राजस्थानकी बर्षा अग्रवाल र काठमाण्डौंकी अश्विना अधिकारीले उनलाई गालीबेइज्जती एवं मानहानी मुद्दा हालेकी हुन् । पत्रकार मेन्याङ्बोलाई अहिले समाचार संकलनको जिम्मेवारी पुरा गर्नु त छदैछ, अदालतमा तारेख धाउनुपर्ने अनावश्यक झञ्झट पनि छ । ‘एक पटक अदालतमा प्रतिउत्तर पनि दिइसकेको छुँ,’धरानको छाताचोकस्थित मैनाली पुस्तक पसलमा जम्काभेट पछिको कुराकानीमा पत्रकार मेन्याङ्बोले भने,‘समाचारमा गाली बेइज्जती, मानहानी हुने कुनै उद्देश्य छैन । लहडमा मुद्दा लगाएर दुःख दिए ।’

पत्रकार मेन्याङ्बो कान्तिपुर दैनिकमा आवद्ध छन् । गत मंसिर २० गते 'विवादै विवादमा सिद्धबाबा' शिर्षकमा उनको बाइलाइन समाचार छापियो । उक्त समाचारमा सिद्धबाबा भनिने कृष्णदास गिरीको विवादास्पद काण्ड एवं कर्तुतहरु उल्लेख थियो । त्यही समाचारमा उनलाई मुद्दा हाल्ने दुई महिला सिद्धबाबाको सहयोगीकोरुपमा छन् भन्ने लेखिएको थियो । त्यसैलाई आधार बनाएर पत्रकार मेन्याङ्बोसँगै कान्तिपुर पब्लिकेशनसका अध्यक्ष कैलास सिरोहिया र प्रधानसम्पादक सुधिर शर्माविरुद्ध पनि उनीहरुले मुद्दा दायर गरेका छन् । धन्न, मुद्दा मिडिया हाउसले नै लडिदिदैछ, जसले गर्दा मेन्याङ्बोलाई थप आर्थिक भार छैन । ‘मुद्दा छिनोफानो हुन ५,६ महिना लाग्छ । त्यतिबेलासम्म तारेख धाउनु पर्छ, नभ्याउदा वारेस राख्न खर्च हुन्छ,’उनले भने ।

पत्रकार मेन्याङ्बोले जो व्यक्ति(कृष्णदास)बारे समाचार लेखे, उनलाई बलात्कार अभियोगमा अदालतले पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरिसकेको छ । उच्च अदालतको यो आदेश आउने सुइको पाएपछि उनी भारत फरार भएका थिए । त्यसअघि जिल्ला अदालत सुनसरीले भने उनलाई ३ लाख धरौटीमा छोड्ने आदेश दिएको थियो । यो आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको थियो । त्यही पुनरावेदनमा उच्च अदालतले जिल्लाको आदेश उल्टाउदै कृष्णदासलाई थुनामा पठाउने आदेश दिएको हो ।

पहिलो होइन मुद्दा

पत्रकार मेन्याङ्बोले समाचारको कारण मुद्दा खेपेको यो पहिलो घटना होइन । यसअघि पनि उनले २ पटक मुद्दा झेलिसकेका छन् । अरु पत्रकारले लेखेको समाचारलाई कान्तिपुरले लेख्यो भनेर उनीविरुद्ध मुद्दा दायर भएको थियो । त्यसमध्ये एउटा मुद्दा अदालतले खारेज गरिदियो भने अर्को मुद्दा सहमतिमा टुंगियो । ‘त्यो बेला त मैले नै वकिल राख्नुपर्यो । पैसा खर्च भयो, समय पनि खर्च भयो,’दशक अघिको घटना उनी सम्झन्छन् ।

साहित्य लेख्दा लेख्दै पत्रकारितामा

pradeep-menyambo2

पत्रकार मेन्याङ्बो २०५१ को अन्त्यतिरबाट पत्रकारितामा आएका हुन् । उनले सिरेटोबाट पत्रकारिता करिअर शुरुवात गरेका थिए । त्यसपछि, इटहरीको नवसंचार, धरानकै सयपत्री, मर्निङ पोष्ट, धरान टाइम्स, न्यूज पोष्ट, हाम्रो पुस्तालगायत थुप्रै स्थानीय पत्रत्रिकामा काम गरे । राजधानीबाट निस्कने साप्ताहिक साँघुमा पनि काम गरे भने स्पेशटाइम्स दैनिक हुदै कान्तिपुर दैनिकमा काम गर्न थालेको डेढ दशक बितिसक्यो ।

उनले अढाई दशक पत्रकारितामा बिताएका छन् । तर, उनको लेखनको शुरुवात भने साहित्यबाट भएको हो । उनी महेन्द्र बहुमुखी क्याम्पसमा २०५१ सालतिर पढ्दा पत्रिकामा आफ्नो साहित्य सृर्जना छाप्न पत्रिका कार्यालय पुग्थे । त्यहाँ राजकुमार दिक्पाल, विमल शाक्य दाईहरुसँग भेट हुन्थ्यो । उनीहरुले सानो सानो समाचार पनि लेख्न लगाउथे । झण्डै ४, ५ बर्ष विना पारिश्रमिक उनले समाचार लेखे । ‘लेख्ने लत बस्यो, समाचार लेख्ने इच्छा पनि बढ्यो, र व्यवासायिक पत्रकारितातर्फ मोडिए,’उनी भन्छन् ।

शुरुवातमा उनले जिविकाको माध्यम बनाउने सोच राखेका थिएनन् । पत्रकारिता पनि सामाजिक काम हो भन्ने ठान्थे । पछि अरु कुनै काम गरेनन्, समाचार लेखेरै जिविको चलाउन थाले । उनको कथासंग्रह पुरुष गन्ध प्रकाशित भएको छ । यस्तै, संयुक्त सम्पादन गरेको गजल संग्रह सप्तकोशीको किनारबाट पनि प्रकाशन भएको छ । पछिल्लो समय उनी पत्रकारितासँगै मुन्धुमी साहित्यामा कविता लेखनमा पनि ब्यस्त छन् ।

पत्रकारितामा विश्वासको संकट छ

pradeep-menyamboo

मेन्याङ्बोको करिब अढाई दशकको पत्रकारिता अनुभवले भन्छ, नेपाली पत्रकारितामा विश्वासको संकट छ । नेपाली पत्रकारितामा समाचारको प्रभाव भएको उनी स्वीकार गर्छन्, तर पत्रकारले लेखेको सबै सत्य हुन्छ भन्ने उनलाई पनि लाग्दैन । ‘५० प्रतिशत सत्य छ, ५० प्रतिशत छैन भन्ने सम्झिन्छुँ,’उनी भन्छन्,‘पाठकहरुले पनि आधाले राम्रो भन्छ, आधाले भन्दैनन् । नेपाली पत्रकारितामा विश्वासको संकट छ ।’

उनको बुझाईमा पत्रकार आफै जान्ने हुदैन, सर्वेसर्वा पनि होइन । तर, नेपालका पत्रकारहरुमा त्यस्तो प्रवृत्ति हावी भएको उनी देख्छन् । यो प्रवृत्तिले गर्दा पत्रकारहरु समाजमा आफु भिन्न छुँ भन्ने अहमता जागेको उनको ठम्याई छ । ‘पत्रकारिता राम्रो हो, तर एटिच्युट खराब हुनथाल्यो । पत्रकारिता व्यक्तिमा भर पर्यो, र समाजले पनि त्यही नजरबाट हेर्न थाल्यो,’उनी भन्छन्,‘समाज र पाठकले समाचार के आयो भन्ने होइन, कसरी लेख्यो ? कसले लेखायो ? भन्नेतिर लाग्न थाल्यो । यो अवस्था पत्रकारहरुले नै ल्याएको हो ।’

उनी राम्रा पत्रकारहरु पनि यो प्रवृत्तिबाट घुन पिसिए जस्तै पिसिनु परेकोमा दुःख व्यक्त गर्छन् । यी सबै सम्झदा उनलाई लाग्छ, बाउ बाजेले राम्रो कमाइदिएको भए पत्रकारिता उहिल्यै छोडिसक्थे । ‘मेरो बाउबाजेले २, ४ करोड कमाएको भए म उहिल्यै पत्रकारिता छोडिसक्थे । आजको जस्तो दुःख त पाउदिन थे,’उनी कुराकानीलाई विट मार्दै भन्छन्,‘मैले भन्दा अरुले पनि सिद्धबाबाको समाचार कति लेखे कति, तर मुद्दा चै मैले खेपिरहेछुँ ।’