धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को १ नम्बर प्रदेश कमिटीको दोस्रो पुर्ण बैठक झापाको विर्तामोडमा सम्पन्न भएको छ ।

नेकपाको झापा जिल्ला पार्टी जिल्ला कार्यालयमा भएको बैठकले जिम्मेवारी बाँडफाट गरेको छ । एक प्रदेश कमिटी सदस्यका अनुसार बैठकले कार्यालय सचिवमा प्रदेश सदस्य चिरञ्जिवी भटराईलाई तोकिएको छ । उनी विगतमा पनि कार्यालय सचिव नै थिए । यस्तै, विभिन्न २९ विभागको प्रमुख र उपप्रमुखहरु तोकिएको छ । महत्वपुर्ण विभाग मानिने पार्टी स्कुल विभाग प्रमुखमा तत्काललाई पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखमा सचिव रहने निर्णय बैठकले गरेको छ । नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे हुन् भने सचिव सुरेशकुमार राई हिमाल छन् ।

यस्तै, बैठकले १४ जिल्लाको संघीय निर्वाचन क्षेत्र समन्वय समिति इञ्चार्ज र प्रदेश निर्वाचन क्षेत्र समन्वय इञ्चार्जहरु पनि तोकेको ती सदस्यले जानकारी दिए । उनका अनुसार १९ वटा संघीय निर्वाचन क्षेत्रको इञ्चार्ज तोकिएको छ भने ५६ वटा प्रदेश निर्वाचन क्षेत्र इञ्चार्ज तोकिएका छन् । ‘धनकुटा जिल्ला जस्तो एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा समन्वय कमिटी बन्दैन, र त्यहाँ इञ्चार्ज तोक्नु परेन,’ती प्रदेश सदस्यले भने,‘प्रदेशसभा निर्वाचन क्षेत्र कम्तीमा पनि २ वटा छ, त्यहाँ समन्वय कमिटि बन्ने भएकोले इञ्चार्ज तोकिएको छ ।’ बैठकले सल्लाहकार परिषद र ज्येष्ठ कम्युनिष्ट मञ्च पनि गठन गरेको छ ।

वडासम्म पार्टी एकता सुदृढीकरण अभियान लैजाने

नेकपा प्रदेश कमिटीले केन्द्रको निर्देशन वमोजिम ३ महिने पार्टी एकीकरण सृदृढीकरण अभियानको कार्ययोजना पनि तयार गरेको छ । सोमबार बसेको पुर्ण बैठकले चैत १ गतेदेखि जेठ मसान्त पार्टी एकीकरण सदृढीकरण अभियानलाई प्रभावकारी बनाउन कार्ययोजना बनाएको हो ।

कार्ययोजनाअनुसार कमिटी गठन गर्न बाँकी रहेको भए चाडो गठन गर्ने, पार्टी सदस्यता बढाउने, प्रशिक्षण गर्ने, प्रचार अभियान तीब्र बनाउने, जनसंगठन, वर्गीय संगठनहरु गठन गर्नेलगायत कार्ययोजनामा समेटिएको एक प्रदेश कमिटी सदस्यले जानकारी दिए । उनका अनुसार अभियानको समापन पालिकास्तरमा जनसभा गरेर हुनेछ । ‘प्रत्येक वडामा कम्तीमा ५ जनाको टोली खटाएर सांगठनिक काम गर्ने, स्थानीयतह सञ्चालनको जनगुनासो सम्बोधन गर्ने र जनप्रतिनिधिहरुलाई योजनामा सहयोग पनि गर्ने कार्ययोजनामा छ,’उनले भने ।

प्रशिक्षणको लागि झलनाथ आइपुगे, मंगलबार प्रचण्डसहित अन्य आउने

नेकपाको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रम मंगलबार विर्तामोडको सिटी सेन्टरमा आयोजना हुदैछ । प्रशिक्षणको लागि नेता झलनाथ खनाल सोमबार नै विर्तामोड पुगिसकेका छन् भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार आउने भएका छन् । यस्तै, प्रशिक्षणकै लागि नेकपा महासचिव एवं सचिवलय सदस्य विष्णु पौडेल, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा पनि मंगलबार विर्तामोड आउने नेकपाले जनाएको छ ।