धरान: आजदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु बन्द भएका छन् ।

कोरोना भइरस(कोभिड १९) को संक्रमण भित्रिन नदिन आज(चैत ९ गते) देखि १८ गतेसम्मको लागि सबै अन्र्तराष्ट्रिय उडानहरु स्थगित गरिएको हो । आज आइतबार राति ११ बजेर ५९ मिनेटपछि कुनै पनि एयरलाइन्सले यात्रु बोकेर नेपाल आउन पाउने छैनन् । यो नियम चैत १८ गते राति ११ बजेर ५९ मिनेटसम्म लागू हुने छ। तर, फाइटर फ्लाइट, कार्गो उडान, आपतकालि उडानलगायतका उडान भने रोकिने छैनन्। यस्तो उडानका लागि पनि अनुमति लिनुपर्ने हुन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै देशबासीको नाममा सम्बोधनको क्रममा यसबारेमा जानकारी दिएका थिए । यात्रु ल्याउन नपाए पनि खाली जहाज (चालक दलका सदस्य) मात्र सवार जहाज भने नेपाल आउन पाउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । खाली जहाज आएर नेपालबाट यात्रु लैजान भने पाउने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् । विदेशबाट जहाज आउन नआएपछि नेपालबाट पनि उडानहरु प्रायः ठप्प नै हुनेछन् । यसले धेरैको विदेश यात्रा पनि प्रभावित हुनेछ ।

यस्तै, आजदेखि नै अत्यावश्यकबाहेकका सबै सेवाहरु पनि चैत २१ गतेसम्मलाई बन्द भएका छन् । प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको घोषणा गरेका थिए ।
यो अवधिमा यी कार्यालयहरुका सेवा मात्र सञ्चालनमा हुनेछन् :

rajpatra
१) डाँक, तार वा टेलिफोन सेवा ।
२) जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा
३) हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
४) आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
५) प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा
६) हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
७) सञ्चार सेवा
८) हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
९) खानेपानीको सञ्चालन तथा वितरण सेवा
१०) बैंकिङ सेवा
११) पेट्रोलिम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
१२) अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
१३) फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापनसँग सम्बन्धित सेवा
१४) पर्यटन आवास, मोटल, होटल, रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा
१५) बिमा सेवा
१६) विद्युत् सेवा
१७) दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दालचामल, नुन, तेल)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा ।