धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमण रोकथाम गर्न पुर्वतयारी अवस्थामा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्ना सबै स्वास्थ्यकर्मीहरुलाई विदामा बस्न रोक लगाएको छ ।

नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिए पनि विश्वभर नै संक्रमण फैलिएर संकट निम्त्याइरहेकोले पुर्वतयारी अवस्थामा रहनको लागि प्रतिष्ठानले कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई विदामा बस्न रोक लगाएको हो । प्रतिष्ठानका अस्पताल निर्देशक एवं कोरोना रोकथाम तथा उपचारको लागि गठित र्यापिड रेस्पोन्स टिमका संयोजक प्रा.डा.गौरीशंकर साहले काजकिरियामा बसेको अवस्थाबाहेक अन्य सबै अवस्थामा विदामा बस्न रोकिएको बताए । ‘अहिलेको अवस्था हेरेर कसैलाई पनि विदामा बस्न दिइएको छैन । कोही काजक्रियामा बस्नुपरेको भएमात्र विदा मिल्छ,’निर्देशक डा.साहले भने,‘हामी सजग भएर पुर्वतयारीमा नै छौं, भागेका छैनौं ।’

थ्रोट स्वाब परीक्षणको ल्याब वीपीमै हुने

corona-bp7

थ्रोट स्वाब परीक्षण गर्नको लागि अहिलेसम्म टेकु अस्पतालमा पठाउनु पर्छ । थ्रोट स्वाबको परीक्षण कोरोना आशंका गरिएका व्यक्तिलाई कोरोना भए नभएको पुष्टि गर्न लिइएको नमुनाको जाँच हो ।

अहिलेसम्म आशंका गरिएका व्यक्तिको थ्रोट स्वाब लिएर टेकुमा पठाउनुपर्दा रिपोर्ट आउन समय लाग्ने गथ्र्यो । अब भने उक्त परीक्षणको लागि वीपीमा नै ल्याब स्थापना हुनेछ । प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साहका अनुसार ल्याबको लागि सेफ्टी क्याबिनेट आइसकेको छ । त्यसैले अब एक, दुई दिनभित्रै ल्याब स्थापना भएर स्वाब यही परीक्षण हुनेछ ।

भेन्टिलेटरसहित २० वेडको कोरोनाको लागि आइसियु तयार गरिने

वीपी प्रतिष्ठानमा संघीय सरकारको सहयोगमा भेन्टिलेटरसहितको २० बेडको आइसियु तयार गरिने भएको छ । कोरोना जोखिम सामना गर्नको लागि पुर्वतयारी स्वरुप वीपी प्रतिष्ठानमा यस्तो तयारी भइरहेको छ ।

कोरोना लक्षित आइसियु कम्तीमा २ साताभित्र तयार गरिने प्रतिष्ठानका अस्पताल निर्देशक डा.साहले बताए । उनका अनुसार अहिले कोरोनाको लागि पेइङ वार्डमा १० बेडको आइसोलेसन तयारी अवस्थामा छ । आवश्यक पर्दा ३० बेड पनि तयारी छ । त्यहाँ भेन्टिलेटरसहित २ वटा आइसियु बेड पनि तयार गरिने उनले बताए ।