काठमाडौँ: फ्रान्सबाट कतार हुँदै नेपाल आएका एक जनालाई कोरोना भाइरस(कोभिड १९) पोजेटिभ देखिएको छ ।

आज स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै एक नेपालीमा कोरोना पोजेटिभ रिपोर्ट आएको जानकारी दिएका हुन् । मन्त्री ढकालका अनुसार उनी चैत ४ गते नेपाल आएका थिए । उनको रिपोर्ट हिजो आएको र पोजेटिभ भएको मन्त्री ढकालले बताए । उनीसँग को को आएका थिए भनेर पनि खोजी गरिने मन्त्रालयले जनाएको छ ।

ती नागरिक आएपछि नै क्वारेन्टाइनमा छन् । उनलाई रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा हिजो संक्रमण देखिएको हो । मन्त्रालयले उनीसँग भेटघाट भएका सबै व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको छ भने उनी होम क्वारेन्टाइनमा रहँदा उनीसँग भेटघाट गर्ने सबैलाई पनि क्वारेन्टाइनमा राखिने मन्त्रालयले जनाएको छ । उनीहरुको पनि स्वाब परीक्षण गरिने बताइएको छ ।

कोरोना पोजेटिभ देखिएका व्यक्ति युवती हुन् । उनी विद्यार्थी भएको बताइएको छ । मन्त्रालयले प्रेस सम्मेलन गर्नुभन्दा केही घण्टाअघि नै विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा नेपालमा दुई जनामा सङ्क्रमण भएको विवरण देखिएको थियो। केही साताअघि चीनको वुहानबाट फर्किएका एक नेपाली युवकलाई सङ्क्रमण भएको पुष्टि भएको अघि। अहिले उनी स्वस्थ भइसकेको बताइएको छ।