धरान: कोरोना भाइसर(कोभिड १९) को सक्रमण फैलिन नदिन नेपाल सरकारले आजदेखि एक सातासम्म घरबाहिर निस्कन नपाउने गरी देशभर लकडाउन गरेको छ ।

सरकारले संक्रमण रोग ऐन २०२० टेकेर देशभर लकडाउन गरेको हो । सरकारको यो निर्णयसँगै आजदेखि एकसाता घरबाहिर निस्कन पाइदैन । यो ऐनमा 'नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कारवाई गर्न सक्छ र सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्नेछ' भन्ने व्यवस्था गरिएको छ ।

सरकारको यो निर्णय उल्लंघन गरेमा ऐनमा सजायको पनि व्यवस्था गरिएको छ । यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई १ महिनासम्म कैद वा १०० रुपैयासम्म जरिबाना हुनेछ वा दुवै सजाय पनि हुनसक्ने व्यवस्था गरिएको छ । यस्ते, यो ऐन अन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्याउनेलाई ६ महीनासम्म कैद वा ६०० रुपैयासम्म जरिबाना वा दुवै सजाय हुने पनि व्यवस्था छ ।

यो ऐन अन्र्तगतको कसुरमा आवश्यक कारवाई गर्ने अधिकार अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ । धरानका डिएसपी ढुण्डीराज न्यौपानेले आज लकडाउनको पहिलो दिन भएकोले कोही घरबाहिर देखिएमा सम्झाएर घरभित्रै पठाइने र अटेर गरेमा संक्रमण ऐनअुनसार कारबाही हुने बताए । 'शुरुमा आग्रह गछौं, अटेर गरेमा ऐन वमोजिम कारबाही हुन्छ,'डिएसपी न्यौपानेले भने,'यो सबैको सुरक्षाको लागि हो, त्यसैले घरभित्रै बसौं ।'