धरान: प्रदेश १ सरकारले सबै अस्पतालहरुमा आकस्मिक र ज्वरोबाहेकका सबै उपचार सेवा स्थगित गर्ने निर्णय गरेको छ ।

अस्पतालहरुमा भिडभाड हुन नदिन र कोरोनाको संक्रमण फैलन नदिन प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । आज प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक गरेका हुन् । मन्त्री घिमिरेले सम्पुर्ण ध्यान कोरोनामा केन्द्रीत गर्न अस्पतालहरुमा आकस्मिक र ज्वरोको उपचार सेवाबाहेक अरु सेवाहरु स्थगिन गर्ने निर्णय गरिएको बताए । ‘आजैको मितिबाट अस्पतालबाट प्रवाह भईआएका सेवाहरु मध्ये मुख्यत आकस्मिक सेवा र फिवर बाहेक अरु सेवाहरु स्थगित गर्ने र सम्पुर्ण ध्यान कोरोनामा केन्द्रीत गर्ने भएका छौं,’मन्त्री घिमिरेले भने ।

मन्त्री घिमिरेका अनुसार सबै अस्पतालहरुमा आइसोलेसन बेड बनाउन र विरामीहरुको उपचार गर्न निर्देशन पनि जारी गरिएको बताए । कोरोनाको चुनौती सामना गर्न अग्रदस्ता स्वास्थ्यकर्मीहरु भएकोले उनीहरुको लागि छुट्टै प्रोटोकल(मार्गदर्शन)का निर्देशन पनि पारित गरिएको मन्त्री घिमिरेले जानकारी दिए ।‘स्थानीयतहको अर्थात हेल्थपोष्टले के गर्ने ? स्वयमसेवीले के गर्ने ? जिल्ला तहकाले के गर्ने ? या विभिन्न तहका अस्पतालहरुले के के काम गर्ने ? स्वास्थ्यकर्मीहरुले के गर्ने भनेर प्रोटोकल जारी गरेका छौं,’मन्त्री घिमिरेले भने,‘त्यो प्रोटकाल फ्लो गर्न, गराउन स्वास्थ्यकर्मीहरुलाई हरेकले तोकिएको जिम्मेवारी निर्वाह गर्न अपिल गरेका छौं ।’

मन्त्री घिमिरेले हरेक नागरिकले अहिलेको स्वास्थ्य संकट सामना गर्नको लागि स्वयम आफु सावधान बन्न पनि अपिल गरेका छन् । उनले कोरोनामा आफुसँग नभए नि अरुबाट आउने भएकोले लिन नजान आह्वान गरे । उनले भने,‘कोरोना मसँग छैन, अरुबाट आउने हो । लिन नजाउ । हरेकले कोरोना लिन नजाउ । कोरोना हामीसँग छैन, बाहिरबाट आउने हो । बाहिरबाट आउनेहरुको सरसंगतमा नजाऔं, कोराना नसारौं । लिन नजाऔं ।’

praadesh-health1

प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख डा.सुरेश मेहताले अस्पतालहरुमा भिडभाड कम गर्न सरकारले आकस्मिक सेवा र ज्वरोका विरामीबाहेकको उपचार सेवा स्थगित गर्ने निर्णय गरेको बताए । यो निर्णय सबै निजी तथा सरकारी स्वास्थ्य सेवाहरुको लागि भएको उनले बताए । ‘सम्पुर्ण अस्पतालहरुको लागि हो, भिड हुन नदिनको लागि भएको निर्णय हो,’डा.मेहताले भने ।

प्रदेशको मार्गदर्शनको निर्देशनमा अस्पतालले कम्तिमा ५ वटा आइसोलेसन बेड राख्नु पर्ने उल्लेख छ । अस्पतालको ल्याबको कर्मचारीले सेम्पल कलेक्सन गरि जिल्ला प्रहरी कार्यालयसंग समन्वय गरि तोकिएको स्थान मा पठाउने व्यवस्था गर्नु पर्नेछ । पहिलो रिपोर्ट नेगेटिभ देखिएमा होम क्वारेन्टाइनमा पठाउने र तोकिएको नजिकको स्वास्थ्य सस्थामा आफ्नो स्वास्थ्यको बारेमा नियमित रुपमा सूचना दिनुपर्नेछ भने प्रत्येक अस्पतालले एकजना मेडिकल अधिकृत कोभिड १९ को सम्पर्क व्यक्तिको नाम र सम्पर्क नम्बर सार्बजनिक गर्नुपर्नेछ । यस्तै, सामान्य बिरामीले फोनबाट नै स्वास्थ्य सम्बन्धी परामर्स सेवा लिने तर १०० बेड भन्दा माथिको अस्पतालले कम्तिमा ३ जना सम्पर्क व्यक्ति तोक्नु पर्नेछ ।

यसबाहेक प्रदेश सरकारले क्वारेन्टाइन केन्द्रको भुमिका, बिशेष कोरोना अस्पताल,स्वास्थ्यकर्मीहरुको लागि क्लिनिकल प्रोटोकल पनि जारी गरेको छ भने स्थानीयतहको भुमिका, हेल्थ डेस्कको कार्यविभाजन र सञ्चारमाध्यमसँगको अपेक्षा पनि सार्वजनिक गरेको छ ।