धरान: लकडाउनकोे दोस्रो दिन धरानमा अवज्ञा गरेर बाहिर निस्किएका १५९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई फेरि पनि अटेर गरेर बाहिर ननिस्कने सर्तमा सम्झाएर अहिले भर्खर छोडिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार १४४ जना पुरुष र १५ जना महिला लकडाउन उल्लंघन गरेपछि समातिएका थिए । उनीहरुलाई दिनभर प्रहरी कार्यालयमा रहेको कभर्ड हलमा राखिएको थियो ।

आज दोस्रो दिन मोटरसाइकल र स्कुटर गरी कुल ४४ वटा प्रहरीले नियन्त्रणमा लिएको थियो भने टेम्पो ८ वटा, साइकल ३ वटा र ट्रक एउटा नियन्त्रणमा लिएको थियो । सबैलाई सम्झाएर छोडिएको डिएसपी ढुण्डीराज न्यौपानेले बताए । ‘फेरि पनि आजको जसरी नै बाहिर ननिस्कन भनेर सम्झाएर पठाएका छौं,’डिएसपी न्यौपानेले भने ।