धरान: प्रदेश एकको विभिन्न जिल्लाबाट कोरोना संक्रमण आशंका गरिएका २० जनाको स्वाब परीक्षणको रिपोर्ट नेगटिभ आएको छ ।
प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका अनुसार ल्याब परीक्षणको लागि पठाइएको २० जनाको रिपोर्ट नेगेटिभ आएको हो । शुक्रबार राती सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फत २० जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । उनले कोरोना रोकथाममा मन्त्रालयबाट ३ करोड निकासा भएको पनि जानकारी दिएका छन् ।

स्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताका अनुसार प्रदेशभरिबाट २५ जनाको थ्रोट स्वाब परीक्षणको लागि काठमाण्डौं पठाइएको थियो । ती मध्ये शुक्रबार साँझसम्म २० जनाको रिपोर्ट नेगेटिभ आएको हो । ‘प्रदेश एकबाट कुल २५ जनाको स्वाब परीक्षणको लागि पठाइएको थियो, त्यसमध्ये २० जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ,’मेहताले भने । अन्य ५ जनाको पनि परीक्षण पश्चात चाडै रिपोर्ट आउने मेहताको भनाई छ । मन्त्रालयले अहिलेसम्म विभिन्न अस्पताल र स्थानीयतहहरुलाई ३ करोड निकास गरेर कारोना रोकथामको लागि विभिन्न सामग्रीहरु खरीदमा दिइएको पनि मेहताले जानकारी दिए ।

प्रदेशभरिको २० जनाको रिपोर्टमध्ये १२ जना धरानस्थित वीपी प्रतिष्ठानबाट परीक्षणको लागि पठाइएकोसमेत हो । परीक्षण रिपोर्ट नेगेटिभ आउनुको अर्थ कोरोना आशंका गरिएका व्यक्तिहरु संक्रमित छैनन् भन्ने पुष्टि भएको हो । नेपालमा अहिलेसम्म ४ जना संक्रमित भेटिएकामा एक जना निको भएर घर फर्किसकेका छन् भने २ जनाको काठमाण्डौंमा र एक जनाको धनगढीस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रदेश १ मा भने अहिलेसम्म कोरोना संक्रमित भएको पुष्टि भएको छैन ।