धरान: इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्कीले धरानमा कोरोना संक्रमणको जोखि भएकोले लकडाउनलाई झन् कडा पार्न आवश्यक भएको बताएका छन् ।

धरान उपमहानगरपालिकामा बुधबार भएको सुरक्षा संयन्त्रको बैठकमा उनले सुनसरी भारतसँग सिमा जोडिएको कारण र वीपी हस्पिटल भएको कारणले धरान जाखिममा भएको बताएका हुन् । वीपीमा सबैतिरबाट विरामीहरु उपचारमा आउने भएकोले धरान संक्रमणको जोखिममा रहेको कार्कीको भनाई थियो । ‘भारतबाट सुनसरी हुदै आउने नाका छ, अर्को जोखिम वीपी हस्पिटल छ । सबै विरामी उपचारको लागि यही आउने भएकोले जोखिम छ ।’

सुरक्षा समितिको बैठकले पनि दोस्रो पटकको लकडाउनमा राज्य कठोर भएर जानुपर्छ भन्ने निष्कर्ष आएको उनले बताए । दोस्रो पटकको लकडाउनमा मानिसहरुलाई घरबाट बाहिर कुनै पनि अवस्थामा निस्कन नदिन निर्देशन आएको र सोही अनुसार प्रहरी प्रशासन परिचालन हुने पनि उनले बताए । ‘आजबाट घरबाट बाहिर निस्कनै नदिनु भनेको छ । आवाज जावत पुरै प्रतिबन्ध लगाउ भन्ने निर्देशन छ,’कार्कीले भने,‘गाडी अनुमति दिदा इर्मजेन्सी परेकोलाई आफ्नो जिल्लाबाहेक कुनै पास इस्यु नगर, त्यसो गर्ने प्रजिअलाई कारबाही हुन्छ भन्ने परिपत्र आएको छ ।’ कार्कीले अहिले सबैलाई अफ्ठ्यारो परेको भएपनि यो हाम्रै लागि भएकोले सहयोग गर्न पनि सबैसँग आग्रह गरे ।