धरान: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले लकडाउनले समस्यामा भएका नागरिकहरुलाई दोस्रो चरणको लागि राहत दिन स्थानीय पालिकाहरुको कोष रित्तिएमा प्रदेश सरकारले बजेट पठाउने बताएका छन् ।

बिहिबार धरानमा आकस्मिक भ्रमणको क्रममा आएका मुख्यमन्त्री राईले सञ्चारकर्मीहरुसँग कुरा गर्दै दोस्रो चरणको राहतको लागि कोष रित्तिए प्रद्येश समक्ष प्रस्ताव पठाउन स्थानीय तहहरुलाई भनिसकेको पनि जानकारी दिए । उनले राहतको लागि लगत एवं तथ्यांक संकलन ध्यान पुर्याउन स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्दै सही मान्छेको पहिचान गरेर राहत पनि सही ठाउँमा पुर्याउन आग्रह गरे ।

‘हामीले प्रष्टरुपमा भनेका छौं, पहिलो चरणमा राहत स्थानीय तहहरुले वितरण शुरु गर्ने, सम्पुर्ण जवाफदेही र जिम्मेवारी स्थानीय तहहरु नै हुनुपर्नेछ,’ मुख्यमन्त्री राईले भने,‘जब स्थानीय पालिकाहरुको कोष रित्तिने अवस्था आउछ, तब आफुसँग भएको लगत र तत्काल आवश्यक राहतको निम्ति प्रदेश समक्ष प्रस्ताव गर्न स्थानीय तहहरुलाई भनेका छौं । सोही वमोजिम नै प्रदेश सरकार तयारी अवस्थामा छ ।’ मुख्यमन्त्री राईले प्रदेश सरकारले छिट्टै स्थानीय पालिकाहरुको कोषमा बजेट पठाउने पनि बताए । स्थानीय पालिकाहरुबाट नै राहत वितरणको कामलाई नियमितरुपमा व्यवस्थित गर्ने पनि उनको भनाई थियो ।

खुला सिमा नाकाको कारण उच्च जोखिम

chief-minister

मुख्यमन्त्री राईले भारतसँगको खुला सिमानाको कारण प्रदेश एक पनि उच्च जोखिममा रहेको बताए । उनले कोरोना भाइरसबाट सरक्षित हुनको निम्ति एकमात्र उपाय लकडाउन नै भएकोले सबैले लकडाउनको नियम र अनुशासन पालना गर्न पनि आग्रह गरे । ‘प्रदेशमा लकडाउन सफल बनाउन आह्वान गरिरहेका छौं, जनचेतनामुलक कार्यक्रमहरु गरिरहेका छौं । सँगसँगै सबै राजनीतिक दल, सबै स्थानीय पालिका, सेनालगायत सुरक्षा निकायहरुसमेत खटिरहेका छौं,’उनले भने,‘खुला सिमा नाकाको कारण हामीलाई जोखिम छ, जहाँबाट लाखौंको संख्यामा छिमेकी मुलक भारतबाट नेपालीहरु प्रवेश गरेको अवस्था छ । त्यसैले यो प्रदेश उच्च जोखिममा छ ।’

सावधानी अपनाउदै सरकारले सुरक्षा निकायहरुसँग पटक पटक बैठक बसिरहेको पनि मुख्यमन्त्री राईलेब बताए । सिमाहरुलाई सतप्रतिशत लक गर्नको लागि नेपाली सेना, सशस्त्र प्रहरी वल, नेपाल प्रहरीलगायतको सुरक्षा निकायलाई परिचालन गर्ने पनि उनको भनाई थियो ।

विराटनगरबाटै स्वाब परीक्षण हुने

मुख्यमन्त्री राईले अहिलेसम्म संक्रमण देखा नपर्नु राम्रो भए पनि उच्च जोखिम भएको कुरालाई हेक्का राखेर हामी तीब्र गतिमा ठुलो संख्यामा स्वाब परीक्षणको तयारी गरेको पनि बताए । उनले शुक्रबार विराटनगरबाट ल्याब सञ्चलान गर्न आवश्यक सामानहरु ल्याएर रातीसम्म जडान गरिसक्ने पनि बताए । ‘हेलिकप्टरको माध्यमबाट भोलीबाट विराटनगरबाट सञ्चालन हुने गरि ल्याबको सामान झिकाई राखेका छौं । आज रातीसम्म जडान गरिसके पछि भोलीबाट ९०, १०० को हाराहारीमा विरातटनगरबाट परीक्षणको काम शुरु हुन्छ,’मुख्यमन्त्री राईले भने,‘हामीले र्यापिड टेष्ट गर्न किटहरु ५ हजारको संख्यामा झिकाइसकेका छौं । ५,७ दिनभित्रमा पाँचौं हजार संख्यामा परीक्षणको काम पुर्ण गछौं ।’

पहिचान भएजतिलाई क्वारेन्टाइनमा राखियो

cm-r

मुख्यमन्त्री राईले भारतबाट आएका व्यक्तिहरुको पहिचान भएजतिलाई क्वारेन्टाइनमा राखेको जानकारी दिए । साथै, उनीहरुको स्वास्थ्य परीक्षण, स्वाब टेष्टको काम पनि नियमित भइरहेको उनले बताए । ‘लगभग तेस्रो मुलुकबाट आएका नेपालीहरु सबैको जसो पहिचान भइसकेको छ, स्वास्थ्य परीक्षण पनि भइसकेको छ । कुनै पनि प्रकारको समस्या देखा परेको छैन,’मुख्यमन्त्री राईले भने,‘छिमेकी मुलुक भारतबाट आएको नेपालीहरुको संख्या धेरै ठुलो छ, त्यसैले पहिचान गर्न पनि गाह्रो भइराखेको छ ।’

पहाडी जिल्लाहरुमा समस्या नभए पनि सुनसरी, झापा र मोरङमा प्रमुखरुपमा समस्या भएको मुख्यमन्त्री राईले जानकारी दिए । धेरै भन्दा धेरै संख्या यिनै तीन जिल्लाहरुमा भारतबाट आएर बसेको उनले बताए । ‘हामीले आह्वान गरिरहेका छांै, सबै जो जो बाहिरबाट आउनु भएको छ, तपाईहरु आफै सचेत हुनुस्, होम क्वारेन्टाइनमा बस्नुस्, सरकारले तयार गरेको क्वारेन्टाइनमा बस्नुस् । स्वास्थ्य परीक्षण गर्नुस् भन्ने कुरा आह्वान गरिरहेका छौं,’मुख्यमन्त्री राईले भने,‘र क्रमशः स्थानीय तहहरुलाई जिम्मा दिएका छौं, कि सबै जो बाहिरबाट आएका छन्, उनीहरुको पहिचान गर्ने, स्वास्थ्य परीक्षण गर्ने, होम क्वारेन्टाइनमा राख्ने, क्वारेन्टाइनमा लिएर जाने यी सबै कुराको जिम्मा स्थानीय तह, स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुलाई दिएका छौं ।’