धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट जोगाउन धरान बजार तथा भानुचोक क्षेत्रमा रहेका सडक मानवहरुलाई पनि धरान उपमहानगरपालिकाले आवास गृहमा एकीकृत गरेर राख्ने भएको छ ।

सुनसरीका प्रजिअ राजेश पौडेलसहितको उपस्थितिमा बिहिबार भएको बैठकले सडकमा रहेका मानिसहरुलाई धरान ८ स्थित लांघाली सामुदायिक वनको आवास गृहमा राख्ने निर्णय गरेको हो । उपमहानगरपालिकाले खाने र बस्ने व्यवस्थापन गर्ने तथा प्रहरीले सुरक्षा दिने पनि निर्णय भएको छ । उनीहरुलाई लकडाउन अवधि पछि पनि आवश्यक व्यवस्थापन गरिने मेयर तिलक राईले जानकारी दिए । ‘सरकारले लकडाउन गरेर सबैलाई घरमा बस्न आग्रह गरिएको छ, तर हाम्रै सहर बजारमा सडकमा घुमिरहेको मानिसहरु पनि भएकोले व्यवस्थापन गर्नुपर्छ भन्ने छलफल चल्यो,’मेयर राईले भने,‘भोली संक्रमण हुनबाट जोगाउन सुरक्षासहितको आवास गृहमा राख्ने निर्णय भएको छ ।’

धरानमा करिब ५० जनाको संख्यामा सडकमा मानिसहरु रहेको तथ्यांक छ । उनीहरुलाई लकडाउन अवधिभर लांघाली वन समुहको आवास गृहमा राखिनेछ भने त्यसपछि आफन्त भएकाहरुलाई आफन्तको जिम्मा लगाइनेछ । आफन्त नभएकाहरुलाई प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर आवास गृह भएको ठाउँमा पुर्याइने मेयर राईले जानकारी दिए । ‘हाम्रो यो पहलले सडक मानवहरुको व्यवस्थापनमा पनि सहयोग पुग्छ,’उनले भने,‘धरानको मारवाडी सेवा समितिले सहयोग गर्ने भएको छ ।’