काठमाण्डौं: कोरोना भाइरसको महामारीबाट शनिबार साँझसम्म २८ जना गैरआवासीय नेपाली(एनआरएन)को मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघले गठन गरेको कोभिड १९ उच्चस्तरीय समितिअन्तरगतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकबाट यो खुलेको हो । संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा समिति गठन गरेको थियो । संघका अनुसार बेलायतमा १७, अमेरिका ८, युएई २, आयरल्याण्डमा १ जनाको ज्यान गएको छ । यस्तै, नेपालबाहेक विश्वभर १ हजार १ सय ६६ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले जानकारी दिएका छन् ।

तथ्यांक अनुसार २१ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन्। विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधार मानेर तथ्यांक तयार पारिएको समितिले जनाएको छ। नेपालमा १९ हजार ५ सय ५४ जनामा परीक्षण गरिएको थियो । ती मध्ये ३१ जनामा कोरोना संक्रमण देखियो भने ३ जना निको भएर घर गइसकेका छन् ।

कुन देशमा कति संक्रमित ?

सबैभन्दा बढी अमेरिकामा ७ सय संक्रमित छन् । यस्तै, युकेमा २ सय, स्पेनमा १०, युएईमा ७१, जर्मनीमा ४, पोर्चुगलमा २२, अष्ट्रेलियामा ११, आयरल्यण्डमा २२, साउदी अरबमा ४, कुवेतमा २१ जना संक्रमित छन् । यसैगरि, फ्रान्समा १, जापानमा १, मलेसियामा ३, म्यानरमारमा १, बेल्जियममा ४, क्यानाडामा ३, स्वीट्जरल्याण्डमा ५, मल्टामा २, हङकङमा १ जना कोरोना संक्रमित छन् । स्रोतः नेपालन्युज