धरान: देशभर २९ हजार भन्दा बढी व्यक्तिहरुको कोरोना परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म कुल २९ हजार ५ सय ६७ जनाको कोरोना परीक्षण भएको हो ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्ता डा.विकास देवकोटाले परीक्षणको यो तथ्यांक दिएका हुन् । उनका अनुसार कुलमध्ये पिसिआर विधिबाट ८ हजार ८१ र आरडिटि विधिबाट २१ हजार ४ सय ८६ परीक्षण गरिएको छ । डा.देवकोटाले पछिल्लो २४ घण्टामा २१६८ नयाँ परीक्षण गरिएको पनि बताए । आरडिटि सबै जिल्लामा पुगेको उनको भनाई थियो । हालसम्म नेपालमा ३१ जना कोरोना संक्रमित भेटिएका छन् । ती मध्ये ४ जना निको भइसकेका छन् ।

देशभर ५ हजार १ सय ८० जना क्वारेन्टाइनमा रहेका छन् भने १ सय ३ जना आइसोलेसन वार्डमा रहेको पनि डा.देवकोटाले जानकारी दिए । ती मध्ये ५ जना उपत्यकामा छन् भने ९८ जना उपत्यका बाहिर आइसोलेसनमा रहेको पनि डा.देवकोटाले जानकारी दिए ।

प्रदेश १ मा कोरोना परीक्षणको अवस्था

प्रदेश १ मा आइतबारसम्म पिसिआर विधिबाट कुल ३ सय ८७ जनाको स्वाब परीक्षण भएको छ । आरडीटी विधिबाट २ हजार २ सय ८१ जनाको नमुना परीक्षण भएको छ । प्रदेश सरकारले निर्माण गरेको क्वारेन्टाइनस्थलमा आइतबारसम्म कुल ६ सय ७६ जना पुगेको छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ६ महिला र १७ पुरुषसहित २३ जना रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ । होम क्वारेन्टाइनमा जम्मा ४ हजार २ सय २३ जना छन् । प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण छन् । ती मध्ये दुई जना नेपाली र ११ जना भारतीय नागरिक हुन् ।