धरान:उद्योगी, व्यवसायीहरुले अर्थमन्त्रीको अध्यक्षतामा भएको लिखित निर्णय लत्याउदै बैंकहरुले ऋणीको खातामा रहेको मौज्दातबाट अनुमति विना साँवा र ब्याज झिकेको बताएका छन् ।

बैंकहरुले चैत मसान्तसम्म कुनै पनि ऋणको साँवा, ब्याज लिन पाउने र ऋणीले स्वविवेकले रकम बुझाएमा ब्याजको १० प्रतिशत छुट दिनुपर्ने नियम विपरीत बैंकले ऋणीको खातामा मौज्दात रकम स्वतः निकालेको उद्योगी, व्यवासीहरुले गुनासो गरेको छ । यो थाह पाएपछि सुनसरी उद्योग वाणिज्य संघले अर्थमन्त्री डा.युवराज खतिवडाको ध्यानकर्षण गराएको छ । संघका अध्यक्ष गिरिधारी सापकोटा र महासचिव राजेश अग्रवालले अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाउदै सो रकम तुरुन्त खातामा फिर्ता गर्न माग गरेका छन् । उद्योगी/व्यवसायीहरुलाई उद्योग तथा व्यवसायिक कार्यहरु सञ्चालन गर्नका लागि तथा कर्मचारीहरुको व्यवस्थापनको लागि समेत रकम आवश्यक पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

संघले बैंक तथा बित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर २०७७ वैशाख १ गतेदेखि घटाएको तर हालसम्म कर्जाको ब्याजदर नघटाएको भन्दै कर्जाको ब्याजदर घटाएर २ प्रतिशत कायम गर्न पनि संघले माग गरेको छ । यस्तै, व्यवसायीहरुले स्थानीय सरकारलाई तिर्ने व्यवसाय कर, घरबहाल कर, आन्तरिक राजश्व कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयलाई तिर्ने कर छुट गर्न पनि माग गरिएको छ । लकडाउनको कारण सबैभन्दा बढी असर परेको क्षेत्र पर्यटन, यातायात र कृषि व्यवसायलाई अल्पकालिन राहतको प्याकेज तुरुन्त घोषणा गर्न पनि संघले माग गरेको छ । व्यवसाय सञ्चालन गरेको स्थानको घरभाडा निःशुल्क गर्नका लागि तुरुन्त स्पष्ट अवधारणा प्रस्तुत गर्न पनि माग गरेको छ ।

यस्तै, नेपालमै उत्पादन हुने विद्युत प्रयोगको प्रवद्र्धनका लागि विद्युत महशुल घटाई घरमा प्रयोग हुने इन्डक्सन चुल्हो, विद्युतीय सवारी र घरायसी विद्युतीय उपकरणको आयातमा भन्सार छुट दिने तथा सस्तोमा खरिद गर्न कम ब्याजदरमा ऋण तथा किस्ताबन्दी सुविधा प्रदान गर्न संघको माग छ । यस्तै, इन्टरनेट सेवा प्रदायकहरुले हाल लकडाउनको अवस्थामा पनि शुल्क नतिर्दा लाईन काटिईरहेकोले सो कार्य तुरुन्त रोक्न र पछि रकम तिर्ने गरि इन्टरनेट सेवा लकडाउन अवधि समाप्त भएको १५ दिनसम्म सुचारु गर्न पनि माग गरेको छ ।

Letter-_-SCCI-Dharan-2