धरान: कोरोना भाइरस(कोभिड १९)को मारमा परेका पर्यटन व्यवसायीहरुले अनुदान स्वरुप घरवहाल करमा छुट दिन धरान उपमहानगरपालिकासँग आग्रह गरेका छन् ।

आज सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको छलफल कार्यक्रममा पर्यटन व्यवसायीहरुले यस्तो आग्रह गरेका हुन् । उनीहरुले घरभाडामा ५० प्रतिशत छुट दिनुपर्ने माग गर्दै त्यसकोलागि घरवालालाई उपमहानगरपालिकालाई त्यो बराबर वहाल करमा छुट दिन आग्रह गरेका हुन् । लकडाउनबाट मारमा परेका विपन्न परिवारलाई राहतको लागि व्यवसायीहरुले सहयोग गरेको स्मरण गर्दै छलफलमा पर्यटनकर्मी वासुदेव वरालले अब उपमहानगरपालिकाले व्यवसायीहरुलाई अनुदान सहयोग गर्नुपर्ने धारणा राखे । ‘व्यवासायीले राहतको लागि सहयोग गर्यौं, अब उपमहानगरपालिकाले व्यवसायीलाई अनुदान उपलब्ध गराउनुपर्छ,’वरालले आग्रह गर्दै भने,‘हामीलाई ५० प्रतिशत घरभाडा छुट हुनुपर्छ, त्यसको लागि घरवालालाई उपमहानगरपालिकाले त्यो बराबर बहाल कर छुट दिनुपर्छ ।’

दुई महिना भन्दा बढी समयदेखि जारी लकडाउनले व्यापार, व्यवसाय धरासायी बनाएकोले भन्दै पर्यटनकर्मी बरालले अब व्यवसायीहरु त्रासमा नबसी अवसर खोज्नुपर्नेमा जोडदिए । त्यसको लागि स्थानीय सरकारले व्यवसायीहरुको आत्मविश्वास बढाउनुपर्ने पनि उनले बताए । ‘कोभिड १९ को त्रासमा बस्नुभन्दा पनि अब हामीले अवसर खोज्नुपर्ने भएको छ,’पर्यटनकर्मी वरालले भने,‘यसको लागि धरान उपमहागनरपालिका, स्थानीय सरकारहरुले व्यवसायीहरुको आत्मविश्वास बढाउने कार्यहरु गर्नुपर्छ ।’

कार्यक्रममा होटल डोभका सञ्चालक विशाल राईले उपमहानगरपालिकाले दन्तकाली, बुढासुब्बा र पिण्डेश्वरसँगै अन्य पर्यटकीयस्थलहरुको पनि प्रवद्र्धन गर्न आग्रह गरे । आयोजक संघका अध्यक्ष गिरिधारी सापकोटाले धरानले लुकेका ऐतिहासिक, धार्मिक महत्वका अन्य स्थानको समेत प्रवद्र्धन गर्नुपर्नेमा जोडदिए । उनले केवलकार र औद्योगिक ग्राम स्थापनाको लागि पनि संघले पहल गरिहेको बताए । “पर्यटकलाई आकर्षणको सुलिकोट, सा“गुरीगढीलाई ऐतिहासिक स्थलको रुपमा परिचित गर्नुपर्छ । यस्तै, पञ्चकन्या मन्दिरको जङ्गललाई मिनी जुको रुपमा विकास गर्नुपर्दछ,”उनले भने,“विष्णुपादुकामा केवलकार र औद्योगिक ग्राम स्थापनाको लागि पनि सुनसरी उद्योग वाणिज्य संघले आवश्यक पहल गरिरहेको छ ।’

धरान बजार महंगो छ भन्ने भ्रम चिर्नुपर्छ:मेयर

धरानका मेयर तिलक राईले धरानको बजार महङ्गो छ भन्ने भ्रमलाई व्यवसायीले चिर्नुपर्ने बताए । यो भ्रमलाई चिर्न सके यहाँको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने उनको भनाई थियो । “हाम्रो शहर महङ्गो छ भन्ने सुनिन्छ, त्यसो हु“दा पर्यटन प्रवद्र्धन हुन सक्दैन, व्यवसायीहरुले त्यसतर्फ पनि ध्यान दिनुपर्छ,’मेयर राईले भने,‘बोली, व्यवहार र वातावरण पनि पर्यटन मैत्री हुनुपर्छ ।” मेयर राईले पर्यटन व्यवसायीहरुको मागलाई बजेटमा समेट्नको लागि सुनसरी उद्योग वाणिज्य संघसँग छलफल गर्ने पनि आश्वासन दिए ।

यसैगरि, उपमेयर मञ्जु भण्डारी सुवेदीले कोभिड १९ को त्राससँगै अब व्यवसायीहरुले जीवन जिउने कला सिक्नुपर्ने बताइन् । उनले धरानको व्यवसाय सहज बनाउन उपमहानगरले कार्यविधि बनाउने पनि बताइन् । ‘अब व्यवसायीहरु कोरोनाको त्रासमा बाँच्नु भन्दा जिवन जिउने कला सिक्नु पर्छ, व्यवसायी इमान्दार र लचिलो भए भने धरानको व्यवसाय सहज बनाउन उपमहानगरपालिकाले कार्यविधि बनाउने छ,’उनले भनिन् ।

सुनसरी उद्योग वाणिज्य संघद्वारा आयोजित कार्यक्रममा संघको पर्यटन समितिका संयोजक एलिना मगरले स्वागत मन्तव्य गरेकी थिइन् । कार्यक्रममा होटल एशोसिएसन अफ धरानका अध्यक्ष सरोज भट्टराई, होटल गजुरका रञ्जना झा, एक्स्ट्रीम धरानका रामप्रसाद राई, होटल सन्ध्या ईनका प्रोप्राईटर रविन अधिकारी, धरान उपमहानगरपालिकाको पर्यटन समितिका संयोजक किशोर थुलुङ्गले पनि आ–आफ्नो धारणा राखेको संघका कार्यसमिति सदस्य विष्णु बरालले जानकारी दिए । आयोजक संघका सल्लाहका कृष्ण साहले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । कार्यक्रम संघका महासचिव राजेश अग्रवालले सञ्चालन गरेका थिए ।