धरान: तेस्रो मुलुकबाट प्लेन चाटर्ड गरेर ल्याइएकामध्ये प्रदेश १ का ४२ जना चतरास्थित होल्डिङ एरियामा आइपुगेका छन् ।

उनीहरु आज बिहान राजधानीबाट आइपुगेका हुन् । ती मध्ये २ जना म्यानमारबाट आएका हुन् भने ४० जना युएईबाट आएका हुन् । उनीहरु हिजो म्यानमार र दुबईबाट राजधानी काठमाण्डौं आइपुगेका थिए । चतरास्थित रामानन्द पिठ सेवा आश्रमलाई प्रदेश सरकारले तेस्रो मुलुकबाट आएकाहरुको लागि होल्डिङ एरिया बनाएको छ । यहाँ आइपुगेकाहरुलाई सम्बन्धित जिल्लामा समन्वय गरेर पठाइने प्रदेश सरकारद्वारा गठित होल्डिङ तथा व्यवस्थापन उपसमितिका सदस्य रवि खनालले जानकारी दिए ।

खनालका अनुसार चतरा आइपुगेकाहरु धनकुटा र तेह्रथुम जिल्लाबाहेक प्रदेश १ का अन्य सबै जिल्लाका छन् । झापा, मोरङ र सुनसरीका व्यक्तिहरुलाई तत्कालै पठाउने व्यवस्था गरिएको छ भने अन्य जिल्लाकालाई पनि समन्वय गरेर पठाउने खनालले जानकारी दिए ।