धरान: सुनसरी उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायीहरुको कोरोना बिमा निःशुल्क गरिदिने भएको छ ।

विश्वव्यापी बनेको कोरोना महामारीको संक्रमण दर नेपालमा पनि बढ्दै गएपछि संघले आफ्ना सदस्य व्यवसायीहरुको स्वास्थ्यलाई ख्याल गर्दै यस्तो निर्णय गरेको हो । आफ्ना सदस्य भएका व्यवसायीहरुले यही आसार २० गतेसम्म सदस्य नविकरण गरेमा ५० हजार बराबरको कोरोना बिमा निःशुल्क गर्ने निर्णय गरेको संघका कार्यसमिति सदस्य विष्णु वरालले जानकारी दिए ।

उनका अनुसार कार्यसमिति सदस्य अनिल ताम्राकारको संयोजकत्वमा बिमा उपसमिति समेत गठन गरेको छ । व्यवसायीहरुको पिसिआर टेष्टमा कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएमा बिमा कम्पनीमार्फत बिमा गरिएका व्यवसायीले ५० हजार पाउनेछन् ।

घरबहाल समस्या समाधान समिति गठन

गत चैत्र ११ गतेदेखि लकडाउन भई व्यापार, व्यवसाय ठप्प भएको अवधिको घर बहालको सम्बन्धमा संघले सहजिकरण गर्ने निर्णय पनि गरेको छ । हिजो बसेको संघको कार्यसमितिको बैठकले द्वितीय उपाध्यक्ष अनिल कुमार अग्रवाल संयोजक रहने गरी घर बहाल समस्या समाधान समिति गठन गरेको छ ।
संघका महासचिव राजेश अग्रवालका अनुसार सो समितिले व्यवसायी र घरधनीका बिचमा मध्यस्थकर्ताको भूमिका खेल्ने तथा घरभाडा छुट दिने घरधनीहरुलाई सम्मान समेत गरिने बताएका छन् ।