धरान: खानेपानीको मुहान क्षेत्रमा पाइपलाइन तोडफोड गरेको आरोपमा पक्राउ परेको हर्क साम्पाङ विरामी भएका छन् ।

उनलाई झाडा, पखला लागेको प्रहरीको भनाई छ । विरामी भएपछि शनिबार बिहानै साम्पाङलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यहाँ उनलाई उपचार पश्चात दिउँसो डिस्चार्ज भएपछि पुनः हिरासतमा नै लगिएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतलले साम्पाङलाई वीपी प्रतिष्ठानको इर्मजेन्सीमा उपचारको लागि लगिएको पुष्टि गरे ।

डिएसपी बस्नेतका अनुसार साम्पाङले आफुलाई झापा, पखला भएको भनेपछि बिहान ८ बजेतिर उपचारको लागि लगिएको थियो । दिउँसो उनलाई दिउँसो नै उपचार गरेर हिरासत कक्षमा ल्याइसकेको पनि उनले बताए । ‘अहिले हिरासतमा ल्याइसकिएको छ, बिहान पखाला लागेको भनेर अस्पताल लगिएको थियो,’ डिएसपी बस्नेतले भने । उनका अनुसार हिरासतमा करिब २५ जना जति थुनुवा छन् । साम्पाङले हिरासतको बसाईबारे अहिलेसम्म केही पनि नभनेको डिएसपी बस्नेतको भनाई छ । ‘हिरासतमा नै राखिएको छ । त्यहाँ २५, २६ जना छन् । केही भन्नु भएको छैन,’उनले भने ।

harka-birami1

साम्पाङलाई प्रहरीले गएको मंगलबार पक्राउ गरेको थियो । उनलाई सार्वजनिक सम्पत्ति तोफडोड र अत्यावश्यक बस्तुमा अवरोधको मुद्दा दायर भएको थियो । खानेपानीको मुहान क्षेत्रमा गएर पाइपलाइन खुस्काउनुका साथै तोडफोड गरेको पाइए पछि धरान खानेपानी व्यवस्थापन बोर्डले साम्पाङ र धरान खानेपानी संस्थानको शाखा कार्यालयका निम्त्ति प्रमुख रामकुमार श्रेष्ठविरुद्ध उजुरी दिएको थियो । सोही आधारमा साम्पाङ पक्राउ परेका हुन् भने श्रेष्ठ फरार अवस्थामा छन् । जिल्ला अदालतले साम्पाङलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।