धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सीमा पिसिआर रिपोर्ट नेगेटिभ आएका विरामीलाई मात्र भर्ना लिन थालेको छ ।
विरामी सिकिस्त अवस्था भएपनि पिसिआर जाँच नगरेका र शंकास्पद विरामीलाई बाहिर गेटबाटै फर्काइदिन थालेका छन् । यसो गर्दा विरामीहरु थप पीडित भएका छन् । पिसिआर जाँच गरेर रिपोर्ट आउन १२ घण्टा बढी समय लाग्ने भएकोले सिरियर विरामीले उपचार समयमा नपाएर ज्यान गुमाउने जोखिम बढेको छ ।
ओपिडी बन्द भइसकेको कारण धरान वडा नं २ गीता मन्दिर लाइनकी ममता शर्मा पौडेलले मंगलबार दिउँसो आफ्नो श्रीमान्लाई इर्मजेन्सीमा लगेकी थिइन् । सास फेर्न निक्कै गाह्रो भएपछि टेम्पो रिजर्ब गरेर इर्मजेन्सी पुगेपनि पिसिआर जाँच नगरेको भन्दै फर्काइदिएको बताइन् । ‘ज्वरो थिएन । खोकी चै थियो । सास फेर्न एकदमै गाह्रो भएर श्रीमान् छटपटिनु भयो, र हतार हतार इर्मजेन्सी लगेका थियौं,’पौडेलले भनिन्,‘तर कोभिड चेक गरेर मात्र ल्याउनु भन्यो, के गर्नु, कसो गर्नु भएर आत्तिए । इर्मजेन्सीमा पनि उपचारै नपाएर मान्छे मर्ने अवस्था हुने रहेछ ।’
कोभिड चेक गर्न मंगलबार स्वाब दिएको र रिपोर्ट आज बुधबार २ बजेतिर आउने भनेपनि नआएको बताइन् । साथै उनले आफ्नो श्रीमान् रातभरि, दिनभरि सुत्न नसकेको भन्दै उनले भनिन्,‘पिसिआरको रिपोर्ट आउन यति ढिलाई हुदो रहेछ, त्यतिबेलासम्म विरामीले उपचारै नपाउने ? यो कस्तो इर्मजेन्सी हो ?’ वीपी प्रतिष्ठानको इर्मजेन्सीमा पिसिआर जाँचको रिपोर्ट नभएर भर्ना पाउने उनको श्रीमान् मात्र होइनन् । केही दिनयता स्वास्थ्य समस्या जटिल भएपछि इर्मजेन्सी पुगेका विरामीहरुलाई कोरोनाको आशंका भएमा पिसिआर जाँचको रिपोर्ट माग्ने र उपचार विना फकाईदिने गरिएको छ ।
हिजो दिउँसो जनकपुर सिटि हस्पिटलले नियमोनिया भनेर रिफर भएका एक विरामीलाई पनि प्रतिष्ठानको इर्मजेन्सीले झण्डै पौने घण्टासम्म भर्ना लिन मानेन् । पछि पिसिआर रिपोर्ट नेगेटिभ भएको इन्टरनेटमार्फत डाक्टरलाई देखाए पछि मात्र भर्ना लिएको थियो । ती विरामीलाई लिएर आएको एम्बुलेन्सका चालक रोशनकुमार यादवले क्लिकधरानसँग भने,‘शुरुमा विरामी राख्न मानेनन् । विरामीको आफन्तले धेरै अनुरोध गरेपछि नेटमार्फत रिपोर्ट डाक्टरलाई देखायौं । एक जना साथीलाई भनेपछि मात्र राख्यो ।’

आज बुधबार दिउँसो पनि मोरङको पथरीबाट ढाडको हड्डी खिएर समस्या भएका एक वृद्धलाई इर्मजेन्सीले पिसिआर नगरेको भन्दै भर्ना नगरि फकाईदिएको उनका एक आफन्तले बताए । केही दिनदेखि पानी पिउन पनि गाह्रो भएको र साह्रो भएपछि आफन्तले आज प्रतिष्ठानको इर्मजेन्सी लगेका थिए । ‘हल्का ज्वारो पनि थियो । पिसिआर टेष्ट गरेर मात्र भर्ना हुन्छ भनेर फकाईदिए । आज पिसिआर गर्न ढिलाई भएकोले घर नै ल्यायौं,’धरानमा रहेका ती विरामीको आफन्तले भने,‘पिसिआर नगरेका विरामीले उपचारै नपाउने ?’
पिसिआर जाँच नगरेका विरामीलाई इर्मजेन्सीमा भर्ना नलिएकोबारे इर्मजेन्सी विभागका प्रमुख तथा कोभिड अस्पतालका ईञ्चार्ज डा.ज्ञानेन्द्र मल्लले इर्मजेन्सीले नभै अन्य विभागले रिपोर्ट माग गर्ने गरेको बताए । स्वास्थ्यकर्मीहरुमा पनि धेरै संक्रमण भएकोले इर्मजेन्सीबाट अन्य विभिन्न विभागमा विरामी पठाउदा पिसिआर रिपोर्ट माग गरेको उनको भनाई छ । ‘इर्मजेन्सीमा भर्ना गर्ने भन्ने नै हुदैन । हामीले त आफ्नो काम गर्ने हो । अन्य विभागले चै पिसिआर रिपोर्ट माग गर्न थालेकोले हो,’डा.मल्ले भने,‘अन्य विभागलाई विना पिसिआर भर्ना गर भनेर हामी भन्न सक्दैनौं ।’
डा.मल्लका अनुसार इर्मजेन्सीका पनि ई एरियामा शंकास्पद विरामीहरु राखिने गरेको तर पछिल्लो दिनमा पोजेटिभ देखिएकोले केही दिनलाई बन्द गरिएको बताए । ‘कोभिड पोजेटिभ आएकोले ई एरिया बन्द गरेका छौं, इर्मजेन्सी बन्द गर्न सक्दैनौं,’उनले भने । प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साहले इर्मजेन्सीमा विरामीलाई राख्न अनिवार्य पिसिआर जाँच गर्नुपर्ने नियम नभएको बताए । यसबिषयमा उनले बुझ्ने प्रतिक्रिया दिए ।







