धरान: शुल्क निर्धारण कार्य प्रक्रियामा नै रहेको र निर्णय नभइसकेको भन्दै धरान उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयहरुलाई कुनै पनि किसिमको शुल्क नउठाउन निर्देशन दिएको छ ।

केही विद्यालयहरुले शुल्क भुक्तानीको लागि विलसहित अभिभावकहरुबाट गुनासो आएको भन्दै आज नगर प्रमुख स्तरीय निर्णयबाट निजी विद्यालयहरुलाई शुल्क निर्धारणबारे निर्णय नभएसम्म कुनै पनि किसिमको शुल्क नउठाउन उपमहानगरपालिकाले निर्देशन दिएको हो । उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले यो निर्देशन सबै संस्थागत विद्यालयहरु तथा प्याब्सन, एनप्याब्सनलाई दिने जनाएको छ । केही निजी विद्यालयहरुले मनोमानी शुल्क तिर्न दबाब दिएको भन्दै अभिभावकहरुले उपमहानगरपालिकामा घेराउ, धर्ना र नाराबाजी गरेर दबाब दिएपछि उपमहानगरपालिकाले आज यस्तो निर्देशन गरेको हो ।

शिक्षा मन्त्रालयको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ वमोजिम विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधिनमा रही स्थानीय तहले स्वीकृत गरे वमोजिम हुने भन्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार धरान उपमहानगरपालिकाले निजी विद्यालयहरुले चलाएको अनलाइन कक्षाको शुल्क निर्धारण गर्नुपर्ने भएपनि अहिलेसम्म निर्णय नगर्दा समस्या सृर्जना भएको हो । विद्यालयहरुले सामान्य अवस्थामा जस्तै शुल्क तिर्न अभिभावकहरुलाई दिबाब दिइरहेका छन् भने अभिभावकहरुले कोरोना महामारीको कारण आम्दानीमा असर पुगेकोले ५० प्रतिशत शुल्क मात्र तिर्ने व्यवस्था गर्न माग गर्दै आन्दोलन गरिरहेका छन् ।

शिक्षा महाशाखा प्रमुख रत्न कटवालले सबै संस्थागत विद्यालयहरुलाई निर्देशन पत्र पठाएको जानकारी दिए । साथै उनले चाडै पालिकाले शुल्कबारे निर्णय गरेमा अहिलेको अन्योलता हट्ने पनि बताए । ‘शुल्कबारे पालिकाले निर्णय नगर्दा अहिले अन्योल भएको हो, यसमा कमजोरी भएकै छ तर पालिकाले शुल्क नतोकीकनै विद्यालयहरुले शुल्क उठाउनु पनि जायज होइन,’उनले भने ।

धरान अभिभावक विद्यार्थी परिवारले उपमहानगरको निर्देशन सकरात्मक भएपनि कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने प्रतिक्रिया दिएको छ । ‘निर्णय नभएसम्म शुल्क नउठाउनु भन्ने निर्देशन स्वागतयोग्य छ, तर यो निर्देशन कार्यान्वयन हुन्छ कि हुदैन ? कार्यान्वयन हुने सुनिश्चितता हुनपर्छ,’अभिभावक विद्यार्थी परिवारका सदस्य सुवर्ण श्रेष्ठले भने,‘हामी यो बिषयमा मेयर साबसँग पनि छलफल गछौं ।’

sikxa-dharan