धरान: उनको खास घर मोरङको सुन्दर हरैचा नगरपालिका वडा नं ४ त्रिवेणी चोक हो । आमा बुबा उतै बस्छन् । तर यी २५ बर्षीया विद्या राई भने विगत २ बर्षदेखि उदयपुरको बेलका नगरपालिकास्थित भागलपुर भन्ने ठाउँमा छिन् ।

सानैदेखि तेक्वान्दो खेलमा लागेकी विद्या अचेल भने आफुजस्तै खेलाडी उत्पादनमा लागेकी छिन् । अर्थात उनी भागलपुरमा तेक्वान्दोको भोलेन्टियर प्रशिक्षक हुन् । उनलाई बेलका नगरपालिकाले प्रशिक्षकमा राखेको हो । उनै तेक्वान्दो प्रशिक्षक विद्या अहिले आफ्नो सानैदेखिको आकाशमा उड्ने चाहना पुरा गर्न पनि जुटेकी छिन् । विगत एक महिनादेखि उनी प्याराग्लाइडिङ कोर्ष गरिरहेकी छिन् ।

एसियर प्याराग्लाइडिङ एकेडेमीले बेलका नगरपालिका ८ मा २७ जना प्रशिक्षार्थीहरुलाई बिगिनर्स कोर्ष(आधारभुत प्रशिक्षण) र टेण्डम( टि-वान) कोर्ष गराइरहेको छ । तिनै मध्ये एक प्रशिक्षार्थी हुन्, विद्या । उनी प्रदेश १ बाट प्याराग्लाइडिङ कोर्ष गर्ने २ जना महिला प्रशिक्षार्थीमध्ये एक हुन् । उनी भन्दा अघि धरानकै पुनम खड्काले पनि बिगिनर्स कोर्ष गरेकी थिइन् । तर, उनले निरन्तरता नदिए पछि पुनः अहिले पनि कोर्ष गरिरहेकी छिन् ।

bidhya-rai1

तेक्वान्दो प्रशिक्षक राई विगतमा कहाँ सिकाउछ भन्ने जानकारी नभएर पनि सिक्ने मौका नपाएको बताउँछन् । ‘पहिलादेखि कै इच्छा थियो, तर कहाँ सिकाउछ भन्ने थाह नभएको कारण सिकेको थिइनँ, अहिले यहाँ हुन्छ भन्ने थाह पाएपछि सिकिरहेको छुँ,’उनले भनिन्,‘एकदमै राम्रो सिकिरहेको छुँ, यहाँ आएपछि नसोचेको खुशी पाएँ ।’

प्याराग्लाइडिङबारे टि.भि.मा हेरेपछि उनलाई मन परेको हो । त्यति बेलादेखि नै उनलाई आकाशमा उड्ने चाहना भयो । तर, उनी तेक्वान्दो खेलमा लागिसकेकी थिइन् । प्याराग्लाइडिङबारे पुर्वमा पुर्वाधार पनि थिएन, र प्रशिक्षण गराउने थलो पनि थिएन । तेक्वान्दो खेलाडीकोरुपमा उनले थुप्रै राष्ट्रिय खेलहरु खेलिन् । मैत्रीपुर्ण अन्तराष्ट्रिय खेलहरु पनि खेलिन् । अब भने तेक्वान्दो प्रशिक्षण मात्र उनको दैनिकी हो । त्यसपछि प्याराग्लाइडिङ उनको अभिन्न अंग बनिसकेको छ । पछि व्यवसायिक पाइलट बन्ने कि खेलाडी भन्ने प्रश्नमा उनले निर्णय नगरिसकेको बताइन् । ‘पाराग्लाइडिङबारे केही थाह थिएन, जति सिके यही आएपछि हो । म मेहनत गर्छु, मैले कतिसम्म गर्न सक्छु, पछि मात्र थाह हुन्छ,’उनले भनिन्,‘अभ्यास गर्छु, र राम्रो भयो भने खेलतर्फ पनि लाग्छुँ ।’

bidhya-rai5

उनी भागलपुरबाट बिहानै ९, १० बजेतिर प्याराग्लाइडिङ प्रशिक्षणस्थल आउँछिन् । त्यहाँ उनी दिउँसो ३ बजेसम्म प्याराग्लाइडिङ सिक्छिन् । उनले टेकअफबाट ल्याण्डिङसम्म उडेर आउन पनि थालिसकेकी छिन् । दिउँसो ३ बजेपछि भने उनी आफ्नो कर्मस्थल भागलपुर फर्कन्छिन् । ‘३ बजेपछि चै म तेक्वान्दो प्रशिक्षण गराउन फर्कन्छुँ,’उनले भनिन् । आमा बुबालाई छुट्टीको बेला भेट्न जाने गरेको उनले बताइन् । आमा बुबालाई सहयोग पर्दा पनि उनी घर पुग्छिन् । लामो समय उनको परिवार इटहरी बसेको थियो । विद्याले तेक्वान्दो इटहरीमा हुँदा नै सिकेकी हुन् ।bidhya-rai