धरान: विद्यालय सञ्चालन र शुल्क निर्धारण गर्ने निर्णयप्रति असहमति जनाउदै धरान अभिभावक विद्यार्थी परिवारले धरान उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।

निजी विद्यालयका अभिभावकहरुले मेयर तिलक राईलाई भेटेर आज विभिन्न ७ बुँदाको प्रश्नसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् । विभिन्न चरणको छलफलबाट अनलाइन कक्षाको शुल्क निर्धारणमा समझदारी गर्ने प्रयास भइरहदा मंसिर २४ गते मेयर, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा महाशाखा प्रमुखलगायतसँग छलफलमा भएको सहमति विपरीत विद्यालय सञ्चालन र शुल्क निर्धारण गरिएको निर्णयमा गम्भीर असहमति रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

विद्यालय सञ्चालकहरुले आपसी सहमति नगरी एकपक्षीय शुल्क माग गरेकैले अभिभावकहरु स्थानीय सरकारलाई गुहार्न आएको भन्दै अभिभावक विद्यार्थी परिवारले शुल्क निर्धारण सम्बन्धी नगर प्रमुखस्तरीय निर्णयमा प्रश्न उठाएको छ । ‘विद्यालय सञ्चालक र अभिभावकबीच आपसी सहमति वा समझदारी भएको खण्डमा सोही वमोजिम मासिक वा बार्षिक शुल्क कायम गर्ने भन्ने बिषय कसरी आयो ? जबकी आपसी सहमति नगरी विद्यालयहरुले एकपक्षीय शुल्क माग गरेको अवस्थामा हामी अभिभावकहरु स्थानीय सरकारको ढोकासम्म आएको जानकारी नै छ,’ध्यानाकर्षण पत्रमा भनिएको छ ।

यस्तै, लकडाउन अवधि २०७७ बैशाख, जेठ र असारको मासिक शुल्क नलिने, नतिर्ने सहमति भएकोमा सो सहमति अुनसार उपमहानगरले जारी गरिएको सुचनामा पनि सम्बोधन नगरिएकोप्रति प्रश्न उठाइएको छ । मंसिर २४ गते उपमहानगर र अभिभावकबीच बैठकमा निर्णय पत्रमा शब्द र वाक्यहरु काँटछाट गरि भाषा मिलाएर त्रिपक्षीय बैठक बसेर अनुमोदन गरी सार्वजनिक गरिने सहमति तोडिएकोमा पनि अभिभावक परिवारले प्रश्न उठाएको छ ।

यस्तै, संघीय सरकारले २०७७ असोज महिनादेखि मान्यता दिएको शैक्षिक सत्र मानेर सत प्रतिशत शुल्क दिने र संघीय सरकारले नै भनेको २०७६ चैत महिना शुल्क फिर्ता गर्नुपर्ने अभिभावक र उपमहानगरबीचको सहमति अनुसार फिर्ता पाउनुपर्ने बिषय छुटाइएको वा हटाइएको बारेमा पनि प्रश्न गरिएको छ । साथै, विद्यालय सञ्चालनको बारेमा स्पष्ट असहमति जनाइएकोमा अभिभावकहरुको सहमति रहेको भनेर भ्रामक प्रचार गर्दै उपमानगरको गलत निर्णयमा अभिभावकहरुलाई भागिदार बनाइएकोलगायत ७ बुँदा प्रश्नसहित ध्यानाकर्षण पत्र बुझाइएको छ । एक अभिभावकले मेयर राईले पत्र बुझेपनि उचित प्रतिक्रिया नदिएको गुनासो गरे । ‘उहाँले पत्र बुझ्नु भयो, तर राम्रो रेस्पोन्स नै गर्नुभएन,’ती अभिभावकले भने ।


2., 2 1