धरान: मोरङको सुन्दर हरैचा नगरपालिकामा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जग्गामा ५० बेडको प्रदेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ ।
सुन्दरहरैचाको वडा नं ११ मा रहेको प्रतिष्ठानको कुल जग्गामध्ये २ बिघा क्षेत्रफलमा सरुवा रोग अस्पताल निर्माण हुने भएको हो । अस्पतालको सोमबार सँस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री भानुभक्त ढकालले शिलान्यास गरेका छन् । प्रदेश १ का जनतालाई सरुवा रोग सम्बन्धी बिशिष्टकृत उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण हुन लागेको वीपी प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले जानकारी दिए । उनले भने,‘प्रदेशका जनताले सरुवा रोगबारे बिशिष्ट उपचार सेवा पाउछन्, त्यसैले यो ज्यादै महत्वपुर्ण आयोजना हो ।’
कोरोनाको महामारी पछि संघीय सरकारले नीतिगतरुपमा नै प्रत्येक प्रदेशमा ५० बेडको सरुवा रोग अस्पताल बनाउने निर्णय गरेको थियो । सोही अनुसार वीपी प्रतिष्ठानले ४४ औं सिनेट बैठकले सरुवा रोग अस्पताल बनाउन सुन्दरहरैचास्थित आफ्नो जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । यो अस्पताल बनाउन संघीय सरकारले बजेट उपलब्ध गराउनेछ भने प्रदेश सरकारले निर्माण गर्ने रजिष्ट्रार डा. रेग्मीले जानकारी दिए ।

निर्माण सम्पन्न भएपछि प्रदेश सरकार र प्रतिष्ठानको संयुक्त प्राविधिक टिमले सञ्चालन,व्यवस्थापन गर्ने पनि उनले बताए । यसबारेमा सोमबार नै प्रदेश सरकार र प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र प्रतिष्ठानका रजिष्ट्रार डा.रेग्मीले पत्रमा हस्ताक्षर गरेका थिए ।
बहुबर्षिय योजना अन्तर्गत यो अस्पताल निर्माण हुनेछ । संघीय सरकारले ८ करोड बजेट अस्पताल निर्माणको लागि निकासा गरिसकेको छ । सरकारले ७ वटै प्रदेशमा ५० बेडको अस्पतालको खाका तयार गरिसकेको छ । ‘शिलान्यास भएको छ, ५० बेडको खाका बनिसकेको छ, जिल्लाको दररेट राख्न मात्र बाँकी हो, धेरै समय लाग्दैन,’रजिष्ट्रार डा.रेग्मीले भने ।







