धरान: नायक पल शाह र चलचित्रकर्मी महासंघ २ नम्बर प्रदेशका अध्यक्ष अरुण प्रधानबीच सहमति भएको छ ।

ईलाका प्रहरी कार्यालय धरानमा आज(शुक्रबार) साँझ शाह, उनका मेनेजर कृष्णप्रसाद जोशी र प्रधानबीच लिखित सहमति भएको हो । दुवै पक्ष एउटै क्षेत्रको व्यक्ति भएकोले दुवै पक्षले आआफ्नो गल्ती, कमजोरीहरु स्वीकार गर्दै सहमति गरेको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । उनले भने,‘उहाँहरुबीच छलफल भयो, दुवै पक्ष चलचित्र क्षेत्रकै भएकोले गल्ती स्वीकार गर्दे सहमति गर्नुभयो ।’

बुधबार ज्वाई खाना घरमा पल शाहलाई स्वागत गर्न र शनिबार हुने कार्यक्रमको निम्तो दिन पुगेका प्रधानलाई शाहका मेनेजर जोशीले आक्रमण गरेका थिए । सो घटना पछि बिहिबार प्रधानले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले शुक्रबार ४ बजे छलफलमा बोलाए पनि शुरुमा पल शाह आउन मानेका थिएनन् । उनको मेनेजर जोशी मात्र छलफलमा आएपछि प्रधानले शाहको उपस्थितिमा मात्र छलफल हुने अडान लिएका थिए । प्रहरीले घटनाको सिसिटिभी फुटेज लगेको र उक्त फुटेजमा जोशीले प्रधान भएको ठाउँमा आएर आक्रमण गरेको देखिएको थियो । आफुलाई आफ्ठेरो हुने अवस्था आएपछि नायक शाह पौने ७ बजेतिर मात्र प्रहरी कार्यालय पुगेका थिए ।

शाहले प्रधानको बारेमा थाह नभएकोले असमझदारी भएको भन्दै दाई मिलेर जाउ भनेर प्रस्ताव गरेको प्रधानले बताए । साथै, आफुलाई हिर्काउने जोशीले पनि हात जोडेर माफी मागेपछि सहमति गरेको उनले बताए । ‘मैले पनि केही साह्रो बोले होला, तर त्यो कुरा त्यतिबेलै मिलिसकेको थियो । मेनेजर भाईले पछि आएर आक्रमण गर्यो, उसले पनि हात जोडेर माफी मागेपछि सहमति गर्यौं,’प्रधानले भने,‘म पनि यही क्षेत्रको मान्छे हुँ, बषौं बिताएको छुँ । चलचित्र नगरी बनाउने अभियानमा लागेको छुँ, कलाकारलाई नराम्रो होस् भन्ने चाहदिन ।’

भिडियो: