धरान: निषेधाज्ञा खुकुलो भएसँगै प्रदेश १ मा कोरोना संक्रमणको दर उच्च हुन थालेको छ । पछिल्लो चौबिस घण्टामा प्रदेशभरि १०९१ जनामा कोरोना संक्रमण देखिएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ६६१ जनाको पीसीआर परीक्षण गर्दा ३३८ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २ हजार २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ७५३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । पीसीआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरीमा ९२, इलाममा ४, उदयपुरमा ३, पाँचथरमा २, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ६७, पथरीशनिश्चरेमा २४, केराबारीमा २२, बेलबारीमा ११, उर्लाबारीमा ४, सुन्दरहरैचा र कटहरीमा २–२, रंगेली, बुडीगंगा र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ । झापाको दमकमा ४९, भद्रपुरमा २०, विर्तामोडमा ९, कमल गाउँपालिकामा ६, मेचीनगरमा ३, अर्जुनधारामा २, हल्दिबारी, कचनकवल, कनकाई, बुद्धशान्ति, शिवसताक्षी र स्थानीय तह नखुलेका १–१ जनामा पनि संक्रमण देखिएको छ । 

यता, सुनसरीको धरानमा ७७, इटहरीमा ९, बराहक्षेत्रमा ३, इनरुवा, हरिनगर र कोशी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ । यस्तै, इलामको इलाम नगरपालिका, चुलाचुली, रोङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा २ र कटारीमा १, पाँचथरको फिदिममा २, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको हलेसी तुवाचुङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २४३ पुगेको छ । पछिल्लो २४ घण्टामा  कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।