धरान: कोरोनाविरुद्ध खोप लगाउन छुटेका धरानका कक्षा १२ तथा कलेजका परीक्षा दिने तयारीमा रहेका परीक्षार्थी विद्यार्थीहरुलाई एक दिन पुनः खोप लगाउने मौका दिइएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार सोमबार पुनः एक दिन परीक्षार्थी विद्यार्थीहरुलाई खोप लगाइने भएको छ । महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानको छाताचोकस्थित पुरानो अस्पतालमा रहेको स्वास्थ्य चौकीमा सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म परीक्षार्थीहरुलाई खोप लगाइनेछ । 

यसअघि भदौ २१, २५ र २६ गते पनि निजी तथा सामुदायिक विद्यालय र कलेजका परीक्षार्थी विद्यार्थीहरुलाई एस्ट्राजेनेका खोप लगाइएको थियो । तीन दिनमा कुल ४ हजार ९ सय ४८ जनाले खोप लगाएका छन् । तर, कतिपय विद्यार्थीहरु उक्त दिन बाहिर गएको कारण खोप लगाउन छुटेको भन्ने धेरै गुनासो आएकोले पुनः एक दिन खोप लगाउन लागिएको मेहताले बताए । 

स्वास्थ्य महाशाखाका अनुसार भदौ २१ गते पुर्वाञ्चल इञ्जिनियरींग कलेजमा ९४१ जना पुरुष र २१४जना महिला गरि १ हजार १ सय ५५ जनाले खोप लगाएका थिए । यस्तै, २५ गते विभिन्न ९ वटा खोप केन्द्रमा ६४५ पुरुष र ७८२ महिलासहित १ हजार ४ सय २७ जना जनाले खोप लगाएका छन् भने २६ गते १ हजार ६१ जना पुरुष र १ हजार ३ सय ५ महिला गरि २ हजार ३ सय ६६ जना विद्यार्थीहरुले खोप लगाएको महाशाखाले जनाएको छ । 

khop-notice