धरानः धरानमा पनि आइतबार संविधान दिवस मनाइएको छ । 

आईतबार बिहान भानुचोकमा झण्डोत्तलन गरएिको थियो भने कार्यपालिका हलमा संविधानमा भएको मौलिक हक सम्बन्धी गोष्ठी आयोजना गरिएको थियो । प्रमुख अतिथि एवं प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी, उपमेयर मञ्जु भण्डारीले भानुचौकमा झण्डोत्तलन गरेका थिए । त्यसपछि, कार्यपालिका हलमा आयोजित कार्यक्रममा सभामुख भण्डारीले संविधान दिवसको शुभकामना दिदै प्रदेश सरकारले ५६ वटा कानुन निर्माण गर्न सकेको बताए । उनले कतिपय कानुनहरु अझै कार्यान्वयन हुन नसकेको पनि बताए । 

यस्तै, स्थानीय सरकार अधिकार सम्पन्न बनाएर अगाडि बढाउनुपर्ने उनको धारणा थियो । स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएर अघि बढाउन सके मात्र लोकतन्त्र, गणतन्त्र वलियो हुने धारणा व्यक्त गरे । जनप्रतिनिधिले जनताको ताली र गाली दुवै खाने भन्दै उनले स्थानीय सरकारले कानुनभन्दा बाहिर गएर काम गर्न नहुने पनि बताए । स्थानीय तहमै कानुन निर्माण गरेर जनताको समस्या समाधान गर्न सकिने सभामुख भण्डारीको भनाई थियो ।

उपमेयर भण्डारीले स्थानीय सरकारले काम गर्दा भौतिक विकासलाई मात्र प्राथमिकता दिएको बताउँदै अब धरानमा बालमैत्री स्थानीय शासन लागु गर्ने तयारी गरिरहेको बताइन् । संविधानको विषयमा अन्तरक्रिया कार्यक्रम गर्न जरुरी रहेको बताउँदै संघीय सरकार आएपछिको पहिलो कार्यकाल भएको कारण सिक्ने र सिकाउने काम मात्र भईरहेको उपमेयर भण्डारीले धारणा व्यक्त गरिन् । कार्यक्रममा धरान उपमहानगरपालिका कर्मचारी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनितिक दलका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।