धरान: नेकपा एमालेमा जेठ २ मा फर्कने गरि भएको १० बुँदे सहमति कार्यान्वयनमा देखिएको समस्याको गाँठो सुनसरी जिल्ला र धरानमा अझै फुकिएको छैन।

केन्द्रमा नेताहरुबीच सहमति भएर एकता भइसके पनि एमालेको सुनसरी जिल्ला कमिटी र धरानमा संस्थापन (ओली पक्ष) र जेठ २ अघिको कमिटी(तत्कालिन माधव नेपाल पक्ष)बीच अझै पनि एकता हुन सकेको छैन । जिल्ला कमिटी र धरानमा दुवै पक्षको समानान्तर गतिविधि जारी छ । यसको पछिल्लो उदाहरण हो, शुक्रबार एमालेको ब्यानरमा संस्थापन पक्षले धरान १५ स्थित इजी राइडर्समा आयोजना गरेको दशैंको शुभकामना तथा चियापान कार्यक्रम ।

uml1

कार्यक्रममा प्रमुख अतिथि थिइन्, एमाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज भगवती चौधरी । उक्त कार्यक्रममा जेठ २ अघिको कमिटीका नेता, कार्यकर्ताहरु सहभागी थिएनन् । जेठ २ अघिको उक्त कमिटीले शुक्रबार नै बैठक बसेर असोज २५ गते मुख्यमन्त्री भीम आचार्यको प्रमुख आतिथ्यमा शुभकामना तथा चियापान कार्यक्रम गर्ने निर्णय गरेको छ । उक्त कमिटीले कार्यक्रमको निमन्त्रणा पत्र पनि बाँड्न थालिसकेको छ । 

uml5

एउटै पार्टीको समानान्तर गतिविधि र कार्यक्रम भएपछि बिहिबारदेखि नै सामाजिक सञ्जालमा कार्यकर्ताहरुबीच बहस र टिकाटिप्पणी भइरहेको थियो । यद्यपी, दुवै पक्षका नेताहरुले मिलेर कार्यक्रम गर्ने र एकताको सन्देश दिने प्रयास भने नगरेका होइनन् । दुवै पक्षबीच छलफल हुँदा जेठ २ अघिको कमिटीले कार्यक्रम २ दिन पछि सार्न प्रस्ताव गरेको र संस्थापन पक्षले त्यसलाई अस्वीकार गरेको थियो । संस्थापन पक्षले जेठ २ अघिको कमिटीका नेता, कार्यकर्ताहरुलाई पनि कार्यक्रममा निम्ता गरेपनि उनीहरु शुक्रबार सहभागी भएनन् ।

माथिदेखि तलसम्मै मिल्नुपर्छ: नेतृ चौधरी

uml2

एमाले केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज भगवती चौधरीले एमालेमा कुनै पनि पक्ष नभएको र नेकपा एमाले पक्ष मात्र भएको दाबी गरिन् । प्रमुख अतिथिको रुपमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेतृ चौधरीले माथिदेखि तलसम्मै सबै एक हुनुको विकल्प नभएको बताइन् । नेतृ चौधरीले भनिन्, ‘अब छुट्टिएर बस्नु नै हुदैन । कहिलेसम्म बस्ने ? यो पक्ष पनि छैन, त्यो पक्ष पनि छैन, एउटै मात्र पक्ष छ, नेकपा एमाले । माथिदेखि तलसम्म सबै एक हौ, सुनसरी, ताप्लेजुंगको पनि मिलेको छैन । हामी बसेरै मिलाउछौ, मिल्नु पनि पर्छ ।’ 

नेतृ चौधरीलेले आगामी चुनावमा धरानमा २० वटै वडामा जित्ने गरि भावी रणनीति बनाएर अघि बढ्न पनि कमिटीलाई आग्रह गरिन् । उनले धरान भिजन तयार गरेर चुनावी अभियान अघि बढाउन निर्देशनसमेत दिइन् । ‘धरान उपमहानगरपालिकामा २० वटा वडामा सबै वडा जित्नुपर्छ । अब धरान नगर कमिटीले धरान भिजन भनेर चुनावी अभियान, घोषणापत्र बनाउनुपर्छ । त्यो भिजन लिएर जानुपर्छ,’उनले भनिन् ।

एमाले प्रदेश १ कमिटी सदस्य मुरारी सुवेदीले धरानमा र जिल्लामा दुवै जना अध्यक्षहरु भएको उल्लेख गर्दै कार्यक्रममा दुवै कमिटीका दुवै जना अध्यक्षहरुलाई उभ्याएर एकताको सन्देश दिन चाहे पनि अर्को पक्ष सहभागी नभएको बताए । उनले एकताको सन्देश दिने गरि कार्यक्रम गर्न दुवै पक्ष वार्तामा बसेको जानकारी दिदै अर्को पक्ष कार्यक्रममा आउन नचाहेको पनि खुलाए । ‘कमिटी मिल्न मात्र बाँकी छ, हामीले दुवै अध्यक्ष यहाँ उभ्याउने र दुवै अध्यक्ष हात मिलाएर हामी चाडै मिल्नेछौ भन्ने सन्देश दिन चाहन्थ्यो, तर साथीहरु आउन चाहनु भएन,’सुवेदीले भने,‘साथीहरु वार्तामा बस्नुभएको थियो, उहाँहरुले हुन्छ हुन्छ भन्नु भयो, तर फेरि हाम्रो पनि बाध्यतामा बुझिदिनुस् हामी आउदैनौ भन्नु भयो ।’

uml3

आफुहरुले एकताको प्रयास गरेको र केन्द्रको सन्देश लागु गरेर पार्टी एक ढिक्का भएको सन्देश दिइरहेको पनि उनले जिकिर गरे । नेता सुवेदीले एमालेको अबको कार्यभार पार्टीको सरकारले गरेको राम्रा कामहरुलाई जनताबीच लैजानुपर्ने पनि बताए । ‘पार्टीको केन्द्रीय कार्यालयले करिब १ सय वटा भिडियो क्लिप बनाउने र त्यसलाई सेयर गर्ने जिम्मेवारी हामी सबैको हो,’ सुवेदीले भने ।

कार्यकाक्रमा एमाले प्रदेश १ कमिटी सदस्य मोतिराज सुनुवारले धरानको अध्यक्ष हर्कजंग एभेङ र जिल्लाको अध्यक्ष रेवतीरमण भण्डारी नै भएको जिकिर गर्दै अलमल भएका नेता, कार्यकर्ताहरुलाई फर्कन आग्रह गरे । उनले आफुहरु नेता मान्न तयार रहेको उल्लेख गर्दै अध्यक्ष पाउदा मात्र नेता हुने कुरा उचित नहुने पनि बताए । विधान अधिवेशनमा सबै पुगेको भन्दै उनले अब राष्ट्रिय महाधिवेशनको लागि कार्तिकभित्र वडा, नगरको अधिवेशन गरेर तीबै्र गतिमा एमालेलाई अघि बढाउने पनि बताए ।